सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं:- नेपाली क्रिकेटको घरेलु संरचनामा एउटा नयाँ इतिहास लेखिएको छ। प्रधानमन्त्री कप पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबका प्रारम्भिक ब्याटर आसिफ शेखले कीर्तिमानी दोहोरो शतक प्रहार गरेका छन्। वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा मधेश प्रदेशविरुद्ध विष्फोटक ब्याटिङ गर्दै आसिफले यो ऐतिहासिक उपलब्धि हासिल गरेका हुन्। योसँगै आसिफ पीएम कपको इतिहासमा २०० रन पूरा गर्ने पहिलो खेलाडी बनेका छन्। आसिफले केवल १३७ बलमा आफ्नो दोहोरो शतक पूरा गर्दै मैदानमा चौका र छक्काको वर्षा गरेका थिए। उनले १४२ बलमा १५ चौका र १७ छक्का हान्दै २०८ रन बनाउन सफल भएका हुन् । यसअघि पीएम कपको इतिहासमा कुनै पनि ब्याटरले २०० रनको आँकडा छुन सकेका थिएनन्। आसिफको यो २०८ रनको इनिङ्स अब पीएम कपको इतिहासमा कुनै पनि खेलाडीले एकै इनिङ्समा बनाएको सर्वोच्च व्यक्तिगत स्कोर बनेको छ। घरेलु टोली मधेश प्रदेशका बलरहरूविरुद्ध निरन्तर दबाब बनाएका आसिफले एपीएफलाई विशाल योगफलतर्फ डोर्याएका छन्। यो पारीले आसिफको ब्याटिङ कौशल र फर्मलाई पुनः एकपटक प्रमाणित गरिदिएको छ।