इक्वालिटी कप : लिगको अन्तिम खेलमा सिरहा र विराटनगरलाई सफलता  

आइतबार, चैत २९, २०८२
Global

विराटनगर : विराटनगरमा जारी ५ औँ इक्युवालिटी कप क्रिकेट प्रतियोगिता अन्तरगत आइतबार भएको लिगको अन्तिम खेलमा सिरहा हव र विराटनगर हव विजयी भएका छन् ।नेपाल क्रिकेट फाउण्डेसनद्वारा आयोजनामा भएको खेलमा प्रतियोगिताबाट बाहिरिएको सिरहाले लिगको पुछारमा रहेको आयोजक नेपाल क्रिकेट फाउण्डेसन–११ (एनसीएफ)लाई १ सय ३३ रनको फराकिलो अन्तरले पराजित गर्दै सान्त्वना जित हात पारेको छ । दुवै टिम यस अघिनै प्रतियोगिताबाट बाहिरिएका थिए ।

टस हारेर ब्याटिङ गरेकोे सिरहाले निर्धारित २० ओभरमा १ विकेटको १ सय ८६ को विशाल स्कोर बनाएको थियो । सिरहाकी प्लेयर अफ म्याच कप्तान सरस्वती चौधरीले ४२ बलमा ६ चौका प्रहार गर्दै अविजित ६५ रन बनाउँदाच अनुराधा चौधरीले पनि अविजित ५९ रन र निलम महतोले १४ रन बनाइन् । एनसीएफकी कप्तान झरना घिमिरेले १ विकेट लिइन् ।

१ सय ८७ रनको विशाल लक्ष्य पाएको एनसीएफले पुरै ओभर खेल्दै ९ विकेट गुमाउँदै ५३ रनमा सिमित भयो । एनसीएफकी सन्जिता खडकालेले सर्वाधिक अविजित १० रनको योगदान गरिन् । सिरहाकी प्रसिद्धिका खडकाले ३ विकेट लिँदा शिवानी यादवले पनि ३ विकेट लिइन् ।

दोस्रो खेलमा विराटनगरले राजविराजलाई  २१ रनले पराजित गरेको छ । दुवै टिम यस अघिनै फाइनलको यात्रा तय गरेका थिए । टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९० रन बनाएको थियो । विराटनगरकी टिका साहले अविजित ३३ रन बनाउँदा  कप्तान सानु राजवंशीले १८ रन र समिक्षा राईले १९ रनको योगदान दिइन् । राजविराजकी अपेक्षा यादवले ४ विकेट लिँदा कप्तान साक्षी यादवले २ विकेट लिइन् ।

९१ रनको लक्ष्य पाएको राजविराजले १७ दशमलव १ बल खेल्दै सवै विकेट गुमाई ६९ रन मात्र बनाउँन सक्यो । राजविराजकी दिपा रामले सर्वाधिक १२ रनको योगदान दिइन् । विराटनगरकी प्लेयर अफ म्याच सुभेक्षा लिम्बुले ३ विकेट लिँदा सानु राजवंशीले २ विकेट सम्रिका गौतम र समिक्षा राई १–१ विकेट लिइन् ।

तालिकामा विराटनगरले खेले ३ खेलमा जित हात पार्दै ६ अंकका साथ शिर्ष स्थान रहेको छ भने राजविराज ३ खेलमा २ मा जित र १ मा पराजित हुँदै ४अंकका साथ दोस्रो स्थान, सिरहाले ३ खेलमा १ मा जित र २ मा पराजित हुँदै तेस्रो स्थानमा चित्त बुझायो । आयोजक नेपाल क्रिकेट फाउण्डेसन–११ (एनसीएफ) खेले तीनै खेलमा पराजित हुँदै तालिकाको पुच्छारमा रहेको छ ।

 

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  १७:४५
प्रतिक्रिया दिनुहोस्