सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं:- नेपाली राष्ट्रिय टोलीका अनुभवी फास्ट बलर तथा नेपाल पुलिस क्लबका खेलाडी करण केसी अनुशासनको कारबाहीमा परेका छन्। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका दौरान अम्पायरको निर्णयप्रति सामाजिक सञ्जालमार्फत आपत्तिजनक अभिव्यक्ति दिएपछि नेपाल क्रिकेट संघ क्यानले उनलाई कडा सजाय सुनाएको हो। क्यानले एक प्रेस विज्ञप्ति जारी गर्दै करणलाई एक खेलको प्रतिबन्ध र १०० प्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय गरेको जानकारी दिएको छ।
जारी प्रधानमन्त्री कपका खेलहरूका क्रममा मैदानमा अम्पायरले दिएको निर्णयप्रति चित्त नबुझाउँदै करणले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका थिए। खेलको गरिमा र स्प्रिट अफ क्रिकेट विपरित अम्पायरको आलोचना गरेको भन्दै क्यानले यसलाई गम्भीर ध्यानाकर्षणको विषय बनाएको थियो। विज्ञप्तिमा भनिएको छ, "नेपाल पुलिस क्लबका खेलाडी करण केसीले अम्पायरहरू प्रति सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्ति प्रति नेपाल क्रिकेट संघको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त अभिव्यक्ति खेल भावना अनुरूप नभएको ठहर गर्दै उनलाई एक खेलका लागि प्रतिबन्ध र १००५ म्याच शुल्क जरिवाना गर्ने निर्णय गरिएको छ।" मैदानभित्रको प्रदर्शन जतिसुकै राम्रो भए पनि अनुशासन उल्लंघन गर्नेलाई नछाड्ने संकेत क्यानले दिएको छ। पछिल्लो समय सामाजिक सञ्जालमा खेलाडीहरूले व्यक्त गर्ने आक्रोशलाई क्यानले नियमन गर्न थालेको यो घटनाले प्रस्ट पार्छ। करण केसी जस्ता सिनियर खेलाडीले नै अनुशासन तोड्दा युवा खेलाडीहरूमा गलत सन्देश जाने भन्दै क्रिकेट वृत्तमा यो कारबाहीलाई 'सही पाठ' को रूपमा हेरिएको छ। यो कारबाहीसँगै करणले पुलिस क्लबको आगामी एक खेल गुमाउनेछन् भने सो खेलबापत पाउने सम्पूर्ण पारिश्रमिक पनि गुमाउनेछन्।