लिग -२ काे खेलतालिका सार्वजनिक

नेपालले दुई ओटा सिरिज खेल्ने
मंगलबार, चैत २४, २०८२
Global

काठमाडौँ :नेपाली क्रिकेटका लागि आगामी दुई महिना निकै व्यस्त र महत्त्वपूर्ण हुने भएका छन्। आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा लगातार दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय  शृङ्खला खेल्ने पक्का भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, पहिलो शृङ्खलामा नेपालले युएई र ओमानको सामना गर्नेछ भने दोस्रो शृङ्खलामा अमेरिका र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

१. पहिलो त्रिकोणात्मक शृङ्खला (नेपाल, युएई र ओमान)
अप्रिल २५ देखि मे ५ सम्म सञ्चालन हुने यस शृङ्खलामा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी युएई र ओमानसँग खेल्नेछ। तालिका अनुसार:

अप्रिल २५: नेपाल विरुद्ध युएई (उद्घाटन खेल)

अप्रिल २९: नेपाल विरुद्ध ओमान

मे १: नेपाल विरुद्ध युएई

मे ५: नेपाल विरुद्ध ओमान

२. दोस्रो त्रिकोणात्मक शृङ्खला (नेपाल, स्कटल्याण्ड र अमेरिका)
पहिलो शृङ्खला सकिएको एक हप्तामै मे १२ देखि अर्को रोमाञ्चक भिडन्त सुरु हुनेछ। जसमा नेपालले बलिया टोलीहरू स्कटल्याण्ड र अमेरिकाको आतिथ्यता गर्नेछ:

मे १२: नेपाल विरुद्ध स्कटल्याण्ड

मे १६: नेपाल विरुद्ध अमेरिका

मे १८: नेपाल विरुद्ध स्कटल्याण्ड

मे २२: नेपाल विरुद्ध अमेरिका

घरेलु मैदानको फाइदा उठाउने दाउ
लिग-२ को अंक तालिकामा आफ्नो स्थान सुधार्न नेपालका लागि यी आठवटै खेल निकै महत्वपूर्ण मानिएका छन्। घरेलु दर्शकको साथ र परिचित मैदान हुनाले नेपाललाई यो शृङ्खलामा 'क्लिन स्विप' गर्ने वा अधिकतम अंक जोड्ने ठुलो अवसर छ।

कीर्तिपुरस्थित टियु मैदानमा हुने यी खेलहरू बिहान ९:१५ बजेदेखि सुरु हुनेछन्। नेपाली टोली अहिले यसै शृङ्खलालाई लक्षित गरी विशेष तयारीमा जुटिसकेको छ।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १८:३८
प्रतिक्रिया दिनुहोस्