प्रधानमन्त्री कप :आज दुई खेल हुँदै

सोमबार, चैत २३, २०८२
Global

काठमाडौं:प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुईवटा महत्वपूर्ण खेलहरू हुँदैछन्। जनकपुरमा हुने पहिलो खेलमा अहिलेको तालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिम प्रदेश र विभागीय टोली एपीएफ क्लब आमनेसामने हुँदैछन्। ६ खेलबाट १० अंक जोडेको सुदूरपश्चिम आज पनि आफ्नो जीतको लयलाई कायम राख्न चाहन्छ भने ५ अंकसहित छैटौँ स्थानमा रहेको एपीएफका लागि आजको खेल तालिका सुधार्ने अवसर हुनेछ।

त्यस्तै, आजै हुने अर्को खेलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच पर्सामा प्रतिस्पर्धा हुनेछ। ५ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा रहेको आर्मी आज कर्णालीलाई हराउँदै शीर्ष स्थानमा उक्लने लक्ष्यका साथ मैदान उत्रिँदै छ। कर्णाली प्रदेश भने ६ खेलमा मात्र ३ अंक जोडेर तालिकाको नवौँ स्थानमा रहेको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार दुवै खेल बिहान ९ बजेदेखि सुरु हुनेछन्। 'सिंगल राउन्ड रोबिन' प्रणालीमा भइरहेको यस प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी कुल १० टोलीको सहभागिता रहेको छ। हालसम्म विभागीय टोलीले मात्र जित्दै आएको यो प्रतियोगितामा नेपाल पुलिस क्लब सबैभन्दा सफल टोली हो। यसपटकको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  ०७:१५
प्रतिक्रिया दिनुहोस्