सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणबाट ऐतिहासिक आर्थिक सफलता हासिल गरेको छ। आइतबार बसेको क्यान केन्द्रीय कार्यसमितिको बैठकले एनपिएल सिजन-२ को आय-व्यय सार्वजनिक गर्दै कुल २५ करोड ३९ लाख रुपैयाँ नाफा भएको जानकारी दिएको हो।
कुल ४७ करोड ३६ लाख ५ सय ५९ रुपैयाँ आम्दानी भएको यस प्रतियोगितामा २१ करोड ९६ लाख रुपैयाँ सञ्चालन खर्च भएको छ। यसमध्ये क्यानले खुद ९ करोड २१ लाख नाफा गर्दा, टिकेटिङ र ब्रोडकास्टिङ लगायतबाट उठेको रकमको ५० प्रतिशत अर्थात् १६ करोड १८ लाख रुपैयाँ ८ वटा फ्रेन्चाइज टोलीहरूलाई बाँडिने भएको छ।
बैठकले आगामी २०८३ साल वैशाख २७ र २८ गते कोशी प्रदेशको विराटनगरमा क्यानको वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ। त्यस्तै, कार्यकाल सकिएका २० जिल्लाका क्रिकेट संघहरूलाई जेठ मसान्तभित्रै निर्वाचन सक्न निर्देशन दिइएको छ।
पूर्वाधारतर्फ क्यानले त्रिवि क्रिकेट मैदानको करार अवधि थप्न पहल गर्ने र तल्लो मुलपानी मैदान हस्तान्तरणका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ। महिला क्रिकेटको विकासका लागि अबदेखि प्रत्येक वर्ष ५ लाख अमेरिकी डलर लगानी गर्ने प्रतिवद्धता समेत क्यानले जनाएको छ।
महत्वपूर्ण निर्णयहरू भएको यस बैठकमा उपाध्यक्ष रोशन सिंह र सचिव दुर्गाराज पाठक सहित ८ जना सदस्यहरू भने अनुपस्थित रहेका थिए।