सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) भित्रको आन्तरिक कलह सतहमा आएको छ। शनिबारका लागि तय गरिएको क्यानको महत्वपूर्ण बोर्ड बैठक उपाध्यक्ष रोशन सिंहसहितका बहुमत सदस्यहरूले बहिष्कार गरेपछि स्थगित भएको छ।
किन तातियो क्यान? विवादको मुख्य जड नेपाल प्रिमियर लिग (एनपीएल) को खर्च विवरण बनेको छ। एनपीएलमा भएको खर्चको पारदर्शिता खोज्दै उपाध्यक्ष सिंहसहित ८ बोर्ड सदस्यहरूले लामो समयदेखि आवाज उठाउँदै आएका थिए। गत जेठमै अध्यक्ष चतुरबहादुर चन्दलाई ज्ञापनपत्र बुझाएर खर्च विवरण सार्वजनिक गर्न माग गरे पनि हालसम्म सुनुवाइ नभएपछि असन्तुष्ट पक्षले बैठक नै बहिष्कार गर्ने कडा कदम चालेको हो।
बहिष्कार गर्ने 'कडा' टोली: बैठक बहिष्कार गर्नेहरूमा उपाध्यक्ष रोशन सिंहसँगै दुर्गा पाठक, विक्रम विष्ट, माधव कर्माचार्य, वीरेन्द्र चन्द, अर्जुन पौडेल, प्रदीप मजगैया र जयन्ती भट्ट रहेका छन्। उनीहरूले पारदर्शिता बिना बैठकमा सहभागी हुनुको औचित्य नरहेको भन्दै आक्रोश पोखेका छन्।
एजेन्डा अलपत्र, बैठक सोमबारलाई सारियो शनिबारको बैठकमा साधारण सभा, बजेट विनियोजन, वार्षिक कार्यक्रम र अडिट रिपोर्ट जस्ता क्यानको भविष्यसँग जोडिएका संवेदनशील एजेन्डाहरू थिए। तर, गणपूरक संख्या र आन्तरिक सहमतिको अभावमा बैठक बस्न सकेन।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले भने केही साथीहरू उपत्यका बाहिर रहेकाले सबैको उपस्थितिका लागि बैठक सोमबारलाई सारिएको दाबी गरेका छन्। उनले अनौपचारिक छलफल भइरहेको बताए पनि असन्तुष्ट पक्षको 'ज्ञापनपत्र' अस्त्रले क्यान नेतृत्वलाई ठूलो दबाबमा पारेको छ।
अब सोमबार बस्ने बैठकमा खर्च विवरण सार्वजनिक हुन्छ या विवाद अझै चुलिन्छ? नेपाली क्रिकेट समर्थकहरूको नजर अब क्यानको आगामी कदममा अडिएको छ।