सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं : त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राख्दै कर्णाली प्रदेशमाथि १३८ रनको फराकिलो जित दर्ता गरेको छ। वीरगंजस्थित नारायणी क्रिकेट मैदानमा सोमबार भएको खेलमा आर्मीले दिएको २६९ रनको लक्ष्य पछ्याएको कर्णाली ४२.१ ओभरमा मात्र १३० रनमा अलआउट भयो। जारी प्रतियोगितामा आर्मीको यो लगातार पाँचौं जित हो।
कर्णालीका लागि विपिन शाहीले ४० र अर्जुन घर्तीले ३२ रन जोड्नु बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। दीपेन्द्र रावतले २५ र सुनिल धमलाले ११ रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्। कर्णालीको पारी ध्वस्त पार्न आर्मीका साहाब आलम र बसिर अहमदले ३–३ विकेट लिए। त्यस्तै आकाश चन्दले २ तथा दुर्गेश गुप्ता र नरेन साउदले १–१ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको आर्मीले ४८ ओभरमा सबै विकेट गुमाएर २६८ रनको बलियो योगफल खडा गरेको थियो। आर्मीका लागि ओपनर अर्जुन साउदले विष्फोटक ब्याटिङ गर्दै शतकीय पारी खेले। उनले १२० बलको सामना गर्दै १० चौका र ३ छक्काको मद्दतमा १२१ रनको योगदान दिए। अर्का ब्याटर बसिर अहमद ४५ रनमा आउट भए।
बलिङतर्फ कर्णालीका दिनेश अधिकारीले ४ विकेट लिए पनि त्यो टोलीको जितका लागि पर्याप्त हुन सकेन। प्रकाश जैसीले ३ तथा दिपेन्द्र रावत, राज शाह र विपिन शर्माले १–१ विकेट लिए। यो जितसँगै आर्मी तालिकाको शीर्ष स्थानतर्फ अझ बलियो बनेको छ।