विराट गोल्डकप चैत २८ बाट सुरु हुँदै, आठ टोली सहभागि हुने

शुक्रबार, चैत २०, २०८२
Global

मोरङ:विराटनगरमा आयोजना हुने प्रतिष्ठित 'विराट गोल्डकप' फुटबल प्रतियोगिताको ३८औँ संस्करण आगामी चैत २८ गतेबाट सुरु हुने भएको छ। वैशाख ५ गतेसम्म चल्ने यस ऐतिहासिक प्रतियोगितामा भारतको अल झारखण्ड बिर्सा मुन्डा एकेडेमीसहित आठ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।

आयोजक विराट गोल्डकप ट्रष्टका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा पूर्वविजेता झापा-११ र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्नेछन्। सहिद मैदानमा हुने दिवा-रात्री खेलका लागि अहिले मैदान तयारीको काम तीव्र पारिएको छ।

यस पटकको गोल्डकपमा मोरङको लिग विजेता सम्राट स्पोर्टिङ क्लबले नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते भारतीय टोली झारखण्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। दोस्रो खेलमा एपीएफ फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ भने तेस्रो खेलमा नेपाल पुलिस क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्ने प्रवक्ता धनकुमार लामाले जानकारी दिए।

विशेष कारणवश साविक विजेता थ्रीस्टार क्लब यसपटक प्रतियोगितामा सहभागी छैन। नोबेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको यस प्रतियोगिताको विजेताले ट्रफीसहित ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिकाको प्रवद्र्धनमा हुने यस प्रतियोगितालाई ट्रष्टले यसवर्षदेखि ३८औँ संस्करणका रूपमा गणना गर्न सुरु गरेको छ। २०१८ सालमा 'महेन्द्र गोल्डकप'बाट सुरु भएको यो प्रतियोगिता मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता मानिन्छ।

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  ११:२३
प्रतिक्रिया दिनुहोस्