खेलकुद मन्त्रीलाई युवराज लामाको ओपन फाइल

खेलकुदमा राजनीतिको 'क्यान्सर' देखि ६ 'P' को ओखतीसम्म
सोमबार, चैत १६, २०८२
Global

काठमाडौँ :राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव एवं नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले नेपाली खेलकुद क्षेत्रमा व्याप्त राजनीतिक हस्तक्षेप र नीतिगत कमजोरी औंल्याउँदै सुधारका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। खेलकुद मन्त्री सस्मित पाेखरेललाई सम्बोधन गर्दै उनले वि.सं. २०४६ पछि खेलकुदमा देखिएका मुख्य समस्या, बेथितिका कारण र आगामी कार्यदिशाबारे स्पष्ट खाका प्रस्तुत गरेका हुन् ।

लामाका अनुसार खेलकुदका संघ-समितिहरूमा योग्यताभन्दा राजनीतिक पहुँच हाबी हुनु, बजेटमा पारदर्शिता नहुनु र पूर्वाधार कमजोर हुनु यस क्षेत्रका प्रमुख चुनौती हुन्। मन्त्रालय, राखेप र नेपाल ओलम्पिक कमिटीबीचको निरन्तरको विवाद तथा दलगत भर्ती केन्द्रका कारण खेलकुदले अपेक्षित गति लिन नसकेको उनकाे ठहर छ।

"नेतृत्व परिवर्तन भए पनि सोच र प्रणाली पुरानै रहँदा सुधार देखिएन," लामाले भन्नुभएको छ, "जवाफदेहिताको कमी र अल्पकालीन निर्णयले खेलकुदलाई राजनीतिक शक्ति केन्द्रको रूपमा मात्र प्रयोग गरियो।"

सुधारका लागि उहाँले 'स्कुल टु ओलम्पिक' को लक्ष्यसहित ६ ‘P’ नीति (प्रशिक्षण, प्रतियोगिता, पुरस्कार, प्रतिभा पहिचान, पूर्वाधार र खेलकुद विज्ञान एकेडेमी) कार्यान्वयन गर्न सुझाव दिनुभएको छ। साथै, नेपालले सम्भावना भएका १५ वटा खेल (कराते, तेक्वान्दो, फुटबल, क्रिकेट, भलिबल लगायत) मा मात्र विशेष ध्यान केन्द्रित गर्नुपर्ने उनकाे प्रस्ताव छ।

राष्ट्रिय खेलकुद ऐन २०७७ लाई त्रुटिपूर्ण भन्दै लामाले ४२ सदस्यीय राखेप बोर्ड प्रभावकारी हुन नसकेकाले ऐन र नियमावलीमा तत्काल संशोधन आवश्यक रहेको बताए। नीति मात्र नभई नियत बदलेर खेलकुदलाई राष्ट्रिय गौरवको क्षेत्र बनाउनुपर्नेमा उनकाे जाेड छ ।

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १५:३०
प्रतिक्रिया दिनुहोस्