सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :विश्व फुटबलको सर्वोच्च संस्था (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले एन्फालाई पत्र काट्दै एक साताभित्र निर्वाचन प्रक्रिया सुचारु नभए नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाटै निलम्बन गर्ने कडा चेतावनी दिएका छन्। यो सँगै नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) गम्भीर संकटमा फसेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फामाथि लगाएको ३ महिने निलम्बनलाई फिफाले ‘बाह्य हस्तक्षेप’ को रूपमा व्याख्या गर्दै यस्तो अल्टिमेटम दिएको हो। एन्फा महासचिव किरण राईलाई शनिबार पठाइएको संयुक्त पत्रमा फिफा र एएफसीले राखेपको हस्तक्षेपलाई पूर्णतः अस्वीकार गरेका छन्। पत्रमा स्पष्ट भनिएको छ— “पत्र प्राप्त भएको ७ दिनभित्र राखेपको निर्णय खारेज गरी निर्वाचन प्रक्रियालाई पूर्ववत् अवस्थाबाट अघि नबढाइए, एन्फालाई तत्काल निलम्बन गर्न फिफा काउन्सिलमा सिफारिस गरिनेछ।” फिफाले एन्फालाई आफ्नो विधानअनुसार स्वतन्त्र रूपमा काम गर्न नदिएको भन्दै राखेपको कदमप्रति असन्तुष्टि जनाएको छ।
निलम्बन भए के हुन्छ? यदि ७ दिनभित्र निर्वाचनको सुनिश्चितता नभएर फिफाले नेपालमाथि प्रतिबन्ध लगाएमा नेपाली फुटबलले निम्न क्षति व्यहोर्नुपर्नेछ:
अन्तर्राष्ट्रिय प्रतिबन्ध: नेपालको राष्ट्रिय टोलीले कुनै पनि अन्तर्राष्ट्रिय खेल र प्रतियोगितामा भाग लिन पाउने छैन।
आर्थिक नाकाबन्दी: फिफा र एएफसीबाट प्राप्त हुने वार्षिक विकास अनुदान र कोषहरू पूर्ण रूपमा रोकिनेछन्।
प्रशासनिक सम्बन्धविच्छेद: विश्वका अन्य कुनै पनि सदस्य राष्ट्रले एन्फासँग खेलकुद सम्बन्ध (मैत्रीपूर्ण खेल वा अन्य सहकार्य) राख्न पाउने छैनन्।
विवादको चुरो
राखेपले ‘आफ्नो स्वीकृति बिना निर्वाचन गर्न लागेको’ आरोप लगाउँदै गत चैत १२ गते एन्फालाई ३ महिनाका लागि निलम्बन गरेको थियो। सोही कारण चैत १३ गते तय भएको एन्फाको चुनावी साधारण सभा अन्तिम समयमा स्थगित भएको थियो।
तर, फिफाले सरकारी निकायको यस्तो हस्तक्षेपलाई आफ्नो विधान विपरित मानेको छ। अबको ७ दिन नेपाली फुटबलको भविष्यका लागि निकै निर्णायक हुने देखिएको छ। सरकार र एन्फा नेतृत्वले समन्वय नगरे नेपाली फुटबल लामो समयका लागि अन्धकारमा धकेलिने जोखिम बढेको छ।