एनभीए भलिबलमा पुरस्कार राशिको धमाका

विजेतालाई १० लाख, विदेशी खेलाडीको पनि ‘इन्ट्री’
आइतबार, चैत १५, २०८२
Global

काठमाडौँः नेपाली भलिबलकै इतिहासमा एउटा नयाँ मानक स्थापित गर्दै १०औँ एनभीए प्रधानमन्त्री महिला तथा पुरुष भलिबल लिग आगामी वैशाखमा आयोजना हुने भएको छ। पुरस्कार राशिमा गरिएको भारी वृद्धिसँगै यस पटकको प्रतियोगिता अहिलेसम्मकै भव्य र ऐतिहासिक हुने निश्चित भएको छ। आगामी वैशाख १० देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने प्रतियोगितामा १५ टोलि सहभागी हुँदैछन् । जसमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोली छन् ।
यस पटक संघले खेलाडी र क्लबको व्यावसायिकतालाई ध्यानमा राख्दै पुरस्कार राशिमा ठूलो फड्को मारेको छ। महिला र पुरुष दुवै विधाका लागि समान पुरस्कार तय गरिएको छ । विजेताले १० लाख रुपैंया र उपविजेताले ५ लाख रुपैंया पुरस्कार प्राप्त गर्दा तेस्रो स्थानमा रहने टोलीले २ लाख ५० हजार रुपैंया पाउनेछन् ।
खेलाडीहरूको व्यक्तिगत कौशललाई सम्मान गर्न विभिन्न विधाहरूमा नगद पुरस्कारको व्यवस्था गरिएको छ । 
सवोत्कृष्ट खेलाडीले ६० हजार रुपैंया, उत्कृष्ट विधातर्फ सर्भर, ब्लकर, स्पाइकर, सेटर, लिबेरो र प्रशिक्षकलाई जनही रु ३० हजार प्रदान गरिने भएको छ । 
प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरको र थप प्रतिस्पर्धी बनाउन नेपाल भलिबल संघले एउटा महत्वपूर्ण निर्णय गरेको छ। अब प्रत्येक टोलीले ३ जनासम्म विदेशी खेलाडी आफ्नो टिममा समावेश गर्न पाउनेछन्। यसले नेपाली खेलाडीहरूलाई विदेशी प्रतिभासँगै खेलेर अनुभव बटुल्ने सुवर्ण अवसर दिनेछ।
यसअघि चैत महिनामै सञ्चालन गर्ने भनिए तापनि केही प्राविधिक कारणले प्रतियोगिता वैशाखको दोस्रो साताका लागि सारिएको संघले जनाएको छ।

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १२:४३
प्रतिक्रिया दिनुहोस्