सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत बिहीबार सम्पन्न खेलमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई उसैको घरेलु मैदान इडेन गार्डेन्समा ६५ रनले पराजित गरेको छ । हैदराबादले दिएको २ सय २७ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता १६ ओभरमा १ सय ६१ रनमै अलआउट भयो ।
जारी सिजनमा हैदराबादको यो पहिलो जित हो । यसअघि पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित भएको थियो । यता कोलकाताले भने लगातार दोस्रो हार व्यहोरेको छ । यसअघि पहिलो खेलमा कोलकाता मुम्बई इन्डियन्ससँग स्तब्ध भएको थियो ।
विशाल लक्ष्य पछ्याउने क्रममा कोलकाताले पहिलो ओभरमै २५ रन जोड्दै विष्फोटक सुरुवात गरेको थियो । ओपनर फिन एलनले ७ बलमा ४ चौका र २ छक्कासहित २८ रन जोडे पनि दोस्रो ओभरमै आउट हुन पुगे । कप्तान अजिन्क्या रहाने १० बलमा ८ रन बनाएर पेभिलियन फर्किए भने मध्यक्रमका क्यामरन ग्रिन २ रनमा आउट भए । अंगकृष रघुवंशीले २९ बलमा ५२ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । कोलकाताका लागि ग्रिन र रघुवंशी दुवै रनआउट हुनु हारको मुख्य कारण बन्यो । यस्तै अनुकुल रोय पहिलो बलमै शून्यमा आउट भए ।
हैदराबादका बलरहरूले कसिलो बलिङ गरेपछि कोलकाताको पारी सस्तैमा समेटियो र हैदराबादले प्रतियोगितामा पहिलो दुई अंक जोड्न सफल भयो ।