सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ । माल्दिभ्सको मालेमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपालको यात्रा सेमिफाइनलमै सकिएको छ। बुधबार भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशसँग १–० गोल अन्तरले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।
मालेस्थित नेशनल फुटबल स्टेडियममा बंगलादेशको जितमा खेलको ११औँ मिनेटमा एमडी मानिकले गरेको गोल नै निर्णायक बन्यो। खेलको सुरुवातदेखि नै आक्रामक देखिएको बंगलादेशविरुद्ध नेपालले खेलको अन्तिमसम्म गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन।
पछिल्लो समय उमेर समूहको फुटबलमा बंगलादेश नेपालका लागि लगातार बाधक बन्दै आएको छ। गत वर्ष नेपालमै भएको संस्करणको फाइनलमा पनि नेपाल बंगलादेशसँगै पराजित भएको थियो। यस पटक पनि प्रशिक्षक उर्जन श्रेष्ठको टोलीले बंगलादेशको बलियो रक्षापंक्ति तोड्न नसक्दा स्तब्ध बन्नु पर्यो।
बंगलादेशले अब उपाधिका लागि शुक्रबार हुने फाइनलमा भारत र भुटानबीचको विजेतासँग खेल्नेछ। नेपाल भने उपाधि जित्ने लक्ष्यका साथ माल्दिभ्स पुगे पनि रित्तो हात घर फर्किने भएको छ।