काभा महिला क्लब भलिबल खेल्न नेपाल पुलिस माल्दिभ्स प्रस्थान

सोमबार, माघ १९, २०८२

काठमाडौं:नेपाल पुलिस क्लबको महिला भलिबल टोली काभा महिला क्लब भलिबल च्याम्पियनसिप खेल्न माल्दिभ्स प्रस्थान गरेको छ। प्रतियोगिता माघ २१ गतेदेखि फेब्रुअरी १० तारिखसम्म माल्दिभ्सको मालेमा हुँदैछ।

यस प्रतियोगिताका लागि पुलिसले घरेलु भलिबलका उत्कृष्ट खेलाडीहरू समेट्दै बलियो टोली बनाएको छ। न्यु डायमन्ड क्लबकी कप्तान सलिना श्रेष्ठ, मिडल ब्लकर सुमित्रा रेग्मी र एभरेष्ट भलिबल क्लबकी ओपन स्पाइकर मिना सुनार पुलिसको टिममा अनुबन्धित छन्।

सलिना श्रेष्ठ लिबेरोको भूमिकामा खेल्नेछिन् भने सुमित्रा मिडल ब्लकर र मिना ओपन स्पाइकरको रूपमा मैदानमा उत्रनेछिन्। सुमित्रा रेग्मीले गत वर्ष पनि पुलिसबाटै काभा खेल्दै उपाधि जितेकी थिइन्।

कप्तान कमला पुनको नेतृत्वमा रहेको टोलीमा सेटरका रूपमा सरस्वती कट्टेल, लिबेरोमा शान्तिकला तामाङ र सलिना श्रेष्ठ छन्। आक्रमणतर्फ उषा भण्डारी, पुनम चन्द, मिना सुनार र आशिषका तामाङ रहनेछन्।

नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले टोलीलाई बिदाइ गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी देशको गौरव बढाउन शुभकामना दिएका छन्।

यस काभा महिला क्लब भलिबलमा नेपाल पुलिससहित कुल ७ टोली सहभागी छन्। प्रतियोगितामा पुलिस समूह ‘बी’ मा परेको छ, जहाँ उज्बेकिस्तानको हुमो भिसी, इरानको फुलोड मोबाराकेह सेपाहान र माल्दिभ्सको हुरा कम्युनिटी क्लब रहेका छन्।

नेपाल पुलिस क्लबले आफ्नो पहिलो खेल बिहीबार उज्बेकिस्तानको हुमो भिसीविरुद्ध खेल्नेछ।

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्