T10 T10

टाइगर कप भलिबल: महिलातर्फ न्यु डायमन्ड च्याम्पियन

पुलिस उपविजेतामै सीमित
शुक्रबार, माघ १६, २०८२
Global

कास्की:पोखरामा सम्पन्न एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको महिलातर्फको उपाधि न्यु डायमन्ड स्पोर्ट्स क्लबले जितेको छ। पोखरा रंगशालामा आज भएको एकपक्षीय फाइनल भिडन्तमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा स्तब्ध पार्दै न्यु डायमन्डले उपाधिमाथि कब्जा जमाएको हो।

न्यु डायमन्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ को सहज अन्तरले आफ्नो पक्षमा पारेको थियो। जितसँगै च्याम्पियन टोलीले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता पुलिसले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँमा चित्त बुझाएको छ। त्यस्तै, थाइल्यान्ड क्विन्सले तेस्रो स्थान हासिल गर्दै २ लाख ६ हजार ६ सय ६६ रुपैयाँ हात पारेको छ।

प्रतियोगितामा न्यु डायमन्डकी सुमित्रा रेग्मी 'सर्वोत्कृष्ट खेलाडी' घोषित भइन्। अन्य विधागत उत्कृष्टतर्फ प्रतिभा माली उत्कृष्ट सर्भर, शान्तिकला तामाङ लिभेरो, प्रगति नाथ सेटर र कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिएका छन्।

यता पुरुषतर्फ भने फाइनल समीकरणको टुंगो लाग्न बाँकी छ। आजै हुने पर्वत जिल्ला भलिबल संघ र गण्डकी प्रदेशबीचको खेलले फाइनल पुग्ने टोलीको फैसला गर्नेछ। यो खेलमा स्पष्ट अंक जोड्ने टोली सिधै फाइनल पुग्नेछ भने खेल पाँचौं सेटसम्म लम्बिए सेट गणनाका आधारमा निर्णय हुनेछ। पुरुषतर्फको फाइनल खेल भोलि शनिबार हुने आयोजक टाइगर ग्रुप अफ पोखराले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  १४:३९
प्रतिक्रिया दिनुहोस्