सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशमाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ। वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा सोमबार भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई पराजित गर्दै महत्त्वपूर्ण अङ्क जोडेको हो।
कर्णाली प्रदेशले दिएको १ सय २० रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २९ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्यो। सुदूरपश्चिमको जितमा किरण थगुन्नाले २६ र खडक बोहोराले २३ रनको योगदान दिए। त्यस्तै मिलन बोहोरा १८ र कप्तान शेर मल्ल १० रनमा अविजित रहे। बलिङतर्फ कर्णालीका अनुज चुनारा र दिवान पुनले दुई-दुई विकेट लिए पनि टोलीको हार टार्न सकेनन्।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली ३२ ओभरमा मात्र १ सय १९ रनमा समेटिएको थियो। कर्णालीका लागि विपिन रावलले ३३ र सुनिल धमलाले २८ रन बनाउनु बाहेक अन्य ब्याटर चल्न सकेनन्।
कर्णालीको इनिङ्सलाई ध्वस्त पार्ने क्रममा सुदूरपश्चिमका हेमन्त धामी एक्लैले ६ विकेट लिए। उनले ७ ओभरमा मात्र १६ रन खर्चेर यो सफलता हात पारेका हुन्। उत्कृष्ट लयमा देखिएका धामीले एकै ओभरमा ३ विकेट लिँदै विपक्षी टोलीलाई दबाबमा राखेका थिए। उनीसँगै मिलन बोहोरा, अशोक धामी, नारायण जोशी र शेर मल्लले पनि एक-एक विकेट बाँडे।