T10 T10
इरान अमेरिका युद्धको असर

सरकारी खर्च कटौतीको मारमा पाकिस्तान सुपर लिग

दर्शकविना रित्तो रंगशालामा खेल हुने
सोमबार, चैत ९, २०८२
Global

लाहोर:पाकिस्तान सुपर लिग (पीएसएल) को ११ औं संस्करण दर्शकविना नै रित्तो रंगशालामा आयोजना हुने भएको छ। पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नक्वीले आइतबार लाहोरमा पत्रकार सम्मेलन गर्दै सरकारी खर्च कटौती र इन्धन बचत गर्ने अभियानका कारण यस्तो कठिन निर्णय लिनुपरेको जानकारी दिए।

आगामी मार्च २६ देखि सुरु हुने भनिएको यो प्रतियोगिता यसअघि ६ वटा सहरमा हुने तय थियो। तर अब लाहोर र कराँचीमा मात्रै खेलहरू हुनेछन्। अमेरिका, इजरायल र इरानबीचको तनावका कारण उब्जिएको विश्वव्यापी इन्धन संकटलाई मध्यनजर गर्दै पाकिस्तान सरकारले कडा नियमहरू लागू गरेको छ। नक्वीले भने, "एकातिर हामी जनतालाई हिँडडुल कम गर्न भनिरहेका छौं भने अर्कोतिर रंगशालामा ३० हजार मानिस जम्मा गर्नु उचित हुँदैन।"

यसपटक प्रतियोगिताको उद्घाटन समारोह समेत रद्द गरिएको छ। दर्शक नहुँदा फ्रेन्चाइज टोलीहरूलाई हुने आर्थिक घाटा क्रिकेट बोर्डले नै बेहोर्ने बताइएको छ। जसले पहिले नै खेलको टिकट किनिसकेका छन्, उनीहरूलाई ७२ घण्टाभित्र रकम फिर्ता गरिनेछ। नयाँ तालिका अनुसार ३९ दिनमा कुल ४४ खेलहरू हुनेछन्, जसमा लाहोर र कराँचीले २२-२२ खेलको आयोजना गर्नेछन्।

प्रतियोगिताको पहिलो खेल हैदराबाद किंग्समेन र लाहोर कलन्दर्सबीच हुनेछ। सरकारले हालै सरकारी गाडीको इन्धन भत्तामा ५० प्रतिशत कटौती गरेको र हप्तामा चार दिन मात्र कार्यालय खोल्ने निर्णय गरेको सन्दर्भमा क्रिकेट बोर्डले पनि खेल तालिका र सञ्चालन विधिमा ठूलो फेरबदल गरेको हो।

Gemini_Generated_Image_r1hzu4r1hzu4r1hz-1774196014.png


 

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  ०७:२३
प्रतिक्रिया दिनुहोस्