सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:आईसीसी टी–२० विश्वकप २०२६ को फाइनलमा भारत र न्युजिल्यान्ड आमनेसामने हुने भएका छन्। मार्च ८ मा अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने यो खेल विश्व क्रिकेटकै सबैभन्दा प्रतिक्षित भिडन्तमध्ये एक मानिएको छ।
मार्च ५ मा भएको दोस्रो सेमिफाइनलमा भारतले इंग्ल्याण्डलाई ७ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो। यसअघि पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको थियो।
टी–२० विश्वकपको फाइनलमा यी दुई टोली पहिलो पटक भिड्न लागेका भए पनि आईसीसीका अन्य प्रतियोगिताका फाइनलमा भने भारत र न्युजिल्यान्ड यसअघि तीन पटक आमनेसामने भइसकेका छन्।
२००० च्याम्पियन्स ट्रफी
सन् २००० को आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा भारत र न्युजिल्यान्ड भिडेका थिए। उक्त खेलमा भारतले २६५ रनको लक्ष्य दिएको थियो। तर न्युजिल्यान्डले ४९.४ ओभरमा लक्ष्य पूरा गर्दै ४ विकेटले जित हात पार्यो।
२०२१ विश्व टेस्ट च्याम्पियनसिप
सन् २०२१ मा भएको पहिलो विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि यी दुई टोली आमनेसामने भएका थिए। उक्त ऐतिहासिक खेलमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराउँदै टेस्ट क्रिकेटको पहिलो विश्व च्याम्पियन बन्न सफल भएको थियो।
२०२५ च्याम्पियन्स ट्रफी
२०२५ को च्याम्पियन्स ट्रफी फाइनल भने भारतले आफ्नो पक्षमा पारेको थियो। दुबईमा भएको खेलमा न्युजिल्यान्डले दिएको २५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्दै उपाधि जितेको थियो।
समग्र रेकर्ड
आईसीसी प्रतियोगिताको फाइनलमा भारत र न्युजिल्यान्डबीच हालसम्म ३ पटक भेट भएको छ।
न्युजिल्यान्ड – २ जित
भारत – १ जित
अब मार्च ८ मा हुने टी–२० विश्वकप २०२६ को फाइनलले इतिहास फेरि लेख्नेछ। के भारतले हिसाब बराबर गर्ला, कि न्युजिल्यान्डले फाइनलमा आफ्नो दबदबा कायम राख्ला? क्रिकेट समर्थकको नजर अहिले यही खेलमा परेको छ ।