T10 T10

 मध्यपूर्वको तनाबले भारत–इङ्ल्यान्डको सेमिफाइनल रद्द हुन लागेको हो ?

बुधबार, फागुन २०, २०८२
Global

काठमाडौ :आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत भारत र इङ्ल्यान्डबीच हुने सेमिफाइनल खेललाई लिएर समर्थकहरू निकै उत्साहित छन् । तर खेलअघि सामाजिक सञ्जालमा एउटा भिडियो तीव्र रूपमा भाइरल भइरहेको छ, जसमा अमेरिका–इरान तनाव र मध्यपूर्वको अवस्थाका कारण खेल रद्द वा स्थगित हुन सक्ने दाबी गरिएको छ ।

भिडियोमा दुबई ट्रान्जिटमा असर, अन्तर्राष्ट्रिय उडानमा समस्या र लजिस्टिक्स संकटका कारण प्रतियोगिता प्रभावित हुन सक्ने उल्लेख गरिएको छ । इरानमा बढ्दो तनावका कारण विमानस्थल बन्द हुन सक्ने र त्यसले टोलीको आवतजावत, प्रसारण तथा आयोजनामा असर पार्न सक्ने दाबीसमेत गरिएको छ । विशेषगरी भारत र इङ्ल्यान्डबीचको सेमिफाइनल निर्धारित समयमा नहुन सक्ने आशंका व्यक्त गरिएको छ ।

तर विभिन्न सञ्चारमाध्यमका अनुसार उक्त दाबी भ्रामक रहेको बताइएको छ । प्रतियोगितासँग सम्बन्धित स्रोतहरूले सेमिफाइनल खेलमा कुनै खतरा नरहेको स्पष्ट पारेका छन् । खेल पूर्वनिर्धारित तालिकाअनुसार नै आयोजना हुने जनाइएको छ । प्रसारण पक्षसँग सम्बन्धित एक सदस्यले पनि टोलीको आवागमन वा व्यवस्थापनमा कुनै समस्या नरहेको बताएका छन् । सबै तयारी पूर्वयोजनाअनुसार अघि बढिरहेको जनाइएको छ ।

त्यसैले समर्थकहरूलाई अनावश्यक हल्लाबाट नआत्तिन आग्रह गरिएको छ । ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताका बेला यस्ता अफवाह फैलिने क्रम सामान्य भए पनि हालसम्म आइसीसीले ले सेमिफाइनल प्रभावित हुने कुनै संकेत दिएको छैन ।

भारत र इङ्ल्यान्डबीचको यो भेट लगातार तेस्रो टी–२० विश्वकपमा सेमिफाइनल चरणमा हुन लागेको हो । अघिल्लो संस्करणमा भारतले इङ्ल्यान्डलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । त्यसैले यसपटकको प्रतिस्पर्धा पनि उच्च प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  १४:४१
प्रतिक्रिया दिनुहोस्