सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:सन् २०२६ को टी–२० विश्वकपमा निराशाजनक प्रदर्शनपछि अफगानिस्तान क्रिकेट टोलीमा व्यापक परिवर्तनको संकेत देखिएको छ।
समूह चरणका चार खेलमध्ये दुई खेलमा मात्र जित हात पारेको अफगानिस्तान यसपटक सेमिफाइनलमा पुग्न असफल भयो। दक्षिण अफ्रिकाविरुद्धको खेल रोमाञ्चक 'डबल सुपर ओभर' सम्म पुगे पनि टोलीले अन्तिम चारमा स्थान बनाउन सकेन। सन् २०२४ को विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको अफगानिस्तानका लागि यसपटकको कमजोर नतिजापछि कप्तान राशिद खानको भूमिकामाथि गम्भीर प्रश्न उठ्न थालेको छ।
अफगानिस्तान क्रिकेट बोर्डका मुख्य कार्यकारी अधिकृत नसीब खानले टोलीभित्र ठूलो परिवर्तनबारे छलफल भइरहेको र भविष्यलाई ध्यानमा राखेर टोलीको पुनर्संरचना गरिने स्पष्ट पारेका छन्। यसअघि नै मुख्य प्रशिक्षक जोनाथन ट्रटलाई पदमुक्त गर्दै उनको स्थानमा इंग्ल्याण्डका रिचर्ड पाइबसलाई नियुक्त गरिसकिएको छ। पाइबसले श्रीलंकाविरुद्धको शृङ्खलापछि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नेछन् भने टोबी र्याडफोर्डलाई नयाँ ब्याटिङ प्रशिक्षक बनाइएको छ।
अब सबैको ध्यान कप्तानीमा पनि हेरफेर हुन्छ कि हुँदैन भन्ने विषयमा केन्द्रित भएको छ। यसैबीच, अफगानिस्तानको टोली यसै वर्षको जुन महिनामा भारत भ्रमणमा जाने तालिका छ।
भ्रमणका क्रममा नयाँ चण्डीगढमा एउटा टेस्ट र तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिनेछन्। टोलीमा हुन लागेको यो सम्भावित परिवर्तनले अन्तर्राष्ट्रिय क्रिकेटमा कस्तो प्रभाव पार्छ भन्ने चासो र चर्चा चुलिएको छ।