T10 T10

नेपाल पुलिस जय ट्रफी क्रिकेटको फाइनलमा

शुक्रबार, फागुन १५, २०८२
Global

काठमाडौं:नेपाल पुलिस क्लब जय ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा पुलिसले बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

बागमतीले दिएको ८९ रनको सामान्य लक्ष्य पुलिसले १५ दशमलव १ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । पुलिसका लागि सोहेल कुँवर ३५ रनमा अविजित रहे भने करण केसी २१ रनमा नटआउट रहे । शंकर रानाले २७ रनको योगदान दिए ।

यसअघि दोस्रो पारीमा बागमती ६२ दशमलव २ ओभरमा २३७ रनमा अलआउट भएको थियो । बागमतीका लागि इशान पान्डेले ९० बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ८० रनको अर्धशतकीय पारी खेले ।

पुलिसका ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दै २६ दशमलव २ ओभरमा ८४ रन खर्चेर ५ विकेट लिए । उनले ५ मेडन ओभरसमेत फाले । राशिद खानले ३ विकेट लिए भने करण केसीले १ विकेट हात पारे ।

यसअघि पहिलो पारीमा पुलिसले ७० ओभरमा ८ विकेट गुमाएर ३ सय ३४ रन बनाउँदै इनिङ्स डिक्लेयर गरेको थियो । जवाफमा बागमती पहिलो पारीमा ५३ दशमलव ४ ओभरमा १ सय ८५ रनमा समेटिएको थियो ।

यससँगै नेपाल पुलिस क्लबले फाइनल यात्रा तय गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  १७:४४
प्रतिक्रिया दिनुहोस्