सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :आइसिसी पुरुष टी-२० विश्वकपको को सुपर–८ चरणमा भारतले जिम्बावेमाथि रनको वर्षा गरेको छ। चेन्नईमा बिहीबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाउँदै २५६ रनको विशाल स्कोर खडा गर्यो।
ओपनिङबाटै आक्रामक सुरुआत गरेको भारतका अभिषेक शर्माले केवल ३० बलमा ५५ रन ठोके। उनले ४ चौका र ४ छक्का प्रहार गर्दै पावरप्लेमै खेलको दिशा तय गरिदिए। अर्का ओपनर सञ्जु सामसन भने २४ रनमा रोकिए।
मध्यक्रममा इशान किशनले २४ बलमा ३८ रन जोड्दा कप्तान सूर्यकुमार यादवले छोटो तर प्रभावशाली पारी खेले। उनले १३ बलमै ३३ रन बनाउँदै रनगतिको चाप कायम राखे।
अन्तिम चरणमा हार्दिक पाण्ड्या र तिलक वर्माको आक्रामक जोडीले जिम्बावेको बलिङ आक्रमण तहसनहस बनायो। पाण्ड्या २३ बलमा अविजित ५० रन बनाउँदै मैदान छाडे भने तिलक वर्माले १६ बलमा ४४ रन कुटे। यी दुईको विस्फोटक ब्याटिङका कारण भारतले अन्तिम पाँच ओभरमै ८० रन थप्दै स्कोरलाई ‘रनको पहाड’ मा रूपान्तरण गर्यो।
जिम्बावेका बलरहरू भने दबाबमा देखिए। रिचर्ड नगरावाले ४ ओभरमा ६२ रन खर्चिएर १ विकेट लिए। ब्लेसिङ मुजाराबानी, टिनोटेन्डा मापोसा र सिकन्दर राजाले समान १–१ विकेट हात पारे पनि टोलीलाई ठूलो क्षतिबाट जोगाउन सकेनन्।