सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत सोमबार भएको खेलमा वेस्ट इन्डिज ले जिम्बाब्बे माथि एकतर्फी जित निकालेको छ।
भारतको वानखेडे स्टेडियम मा भएको खेलमा वेस्ट इन्डिजले १०७ रनको विशाल अन्तरले जिम्बाब्बेलाई हरायो। २५५ रनको लक्ष्य पछ्याएको जिम्बाब्बे १७.४ ओभरमै अलआउट हुँदै १४७ रनमा सीमित भयो।
जिम्बाब्बेका लागि ब्राड इभान्सले ४३ रन बनाउँदा डियोन मायर्सले २८ रन जोडे। कप्तान सिकन्दर राजाले २७ रन बनाए भने तदिवानाशे मारुमानी र टोनी मुनयोंगाले समान १४–१४ रनको योगदान दिए। अन्य ब्याटरहरू खासै जम्न सकेनन्।
बलिङतर्फ वेस्ट इन्डिजका गुडाकेश मोटी चम्किए। उनले चार विकेट लिँदा अकिल होसेनले तीन विकेट झारे। म्याथ्यु फोर्डले दुई विकेट लिए भने ज्यासन होल्डरले एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २५४ रनको विशाल योगफल खडा गरेको थियो। यो जारी संस्करणको सबैभन्दा ठूलो स्कोर मात्र नभई विश्वकप इतिहासकै दोस्रो उच्च स्कोर पनि हो। यसअघि सन् २००७ मा श्रीलंकाले केन्याविरुद्ध २६० रन बनाएको थियो, जुन अझैसम्मको कीर्तिमान स्कोर हो।
वेस्ट इन्डिजको इनिङ्समा शिमरोन हेटमायर मुख्य आकर्षण बने। उनले ३४ बलमा ७ चौका र ७ छक्का प्रहार गर्दै ८५ रनको विस्फोटक पारी खेले। रोभम्यान पावेलले ३५ बलमा ५९ रन जोड्दै राम्रो साथ दिए। ओपनर ब्रान्डन किङ र शाई होपले क्रमशः ९ र १४ रन बनाए भने शेर्फेन रदरफोर्डले २७ रन थपे।
जिम्बाब्बेका बलरमध्ये रिचर्ड न्गाराभा र ब्लेसिङ मुजराबानीले दुई–दुई विकेट लिए। ब्राड इभान्स र ग्रीम क्रेमरले समान एक विकेट हात पारे।