T10 T10

टी-२० विश्वकप: नेपाल इटालीसँग भिड्दै

बिहीबार, माघ २९, २०८२
Global

काठमाडौँ:आईसीसी पुरुष टी-२० विश्वकप २०२६ मा नेपालले आफ्नो दोस्रो खेलमा बिहीबार (आज )इटालीको सामना गर्दैछ। मुम्बईको वानखेडे स्टेडियममा हुने यो खेलमा नेपाल  पहिलो जित हात पार्ने लक्ष्यका साथ मैदान उत्रिनेछ।

इंग्ल्यान्डविरुद्धको पहिलो खेलमा निकै कडा टक्कर दिएर झिनो अन्तरले पराजित भएपछि नेपाली टोलीको मनोबल उच्च छ। टोलीका ब्याट्सम्यान कुशल भुर्तेलको आक्रामक सुरुवात र कप्तान रोहित पौडेल तथा दीपेन्द्र सिंह ऐरीको मध्यक्रमको ब्याटिङ नेपालको मुख्य हतियार हुन्। यस्तै, सन्दीप लामिछाने र सोमपाल कामीको बलिङ आक्रमणले इटालीलाई दबाबमा राख्न सक्छ।

अर्कोतर्फ, विश्वकपमा डेब्यु गरिरहेको इटाली आफ्नो पहिलो खेलमा स्कटल्याण्डसँग ७३ रनले पराजित भएको थियो। इटालीको बलिङ र ब्याटिङ दुवैमा समस्या देखिएको छ। थप चुनौतीको रूपमा, इटालीका कप्तान वायन म्याडसेन चोटका कारण यो खेलमा खेल्ने सम्भावना कम छ ।जसले टोलीलाई ठूलो धक्का दिएको छ।

वानखेडेको पिच ब्याटिङका लागि निकै अनुकूल मानिन्छ। नेपालले सुरुदेखि नै आक्रामक ब्याटिङ गरेमा ठूलो स्कोर खडा गर्न सक्छ। हालको फर्म र मनोबलका आधारमा नेपाल यो खेलमा बलियो देखिएको छ। खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  ०६:४५
प्रतिक्रिया दिनुहोस्