सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं: नेपाली क्रिकेटको फ्यान फलोइङमा ठूलो उछाल आएको छ । आइसीसी टी २० विश्वकप २०२६ अन्तर्गत शनिबार मुम्बईको वानखेडे स्टेडियममा भएको खेलले क्रिकेट जगतमा एउटा नयाँ मानक स्थापित गरी विश्वलाई नै चकित पारेको हो । आईसीसीको पछिल्लो तथ्यांकअनुसार नेपाल र इङ्ल्यान्डबीचको खेल हेर्न १९ हजार ३६९ दर्शक स्टेडियम पुगेका थिए। ३३ हजार क्षमताको वानखेडेमा उपस्थित यी दर्शकमध्ये बहुमत नेपाली समर्थक थिए, जसले गर्दा मुम्बईको मैदान काठमाडौंको टीयू ग्राउन्ड जस्तै देखिएको थियो। नेपाल र इङ्ल्यान्डको यो भिडन्त अन्य खेलहरूको तुलनामा निकै उत्साहजनक देखिएको हो ।
सन् २०२४ को विश्वकपसँग तुलना गर्दा नेपाली क्रिकेटको फ्यान फलोइङमा ठूलो उछाल आएको देखिएको हो। २०२४ मा दक्षिण अफ्रिका विरुद्धको खेलमा सेन्ट भिन्सेन्टमा सिमित दर्शकहरूका बीच नेपालले १ रनको बिर्सनलायक हार बेहोरेको थियो। तर यसपटक छिमेकी देश भारतमा विश्वकप आयोजना हुँदा नेपाली समर्थकहरू बस र रेल चढेरै मुम्बई ओइरिएका छन्। आईसीसीका अनुसार सन् २०२४ को तुलनामा २०२६ को यो विश्वकपमा नेपालबाट हुने डिजिटल इन्गेजमेन्टमा ४४२ प्रतिशत ले वृद्धि भएको छ, जुन अन्य देशको तुलनामा सर्वाधिक हो।
मैदानमा पनि नेपालले टेस्ट राष्ट्र इङ्ल्यान्डलाई अन्तिम बलसम्म दबाबमा राख्यो। १८५ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा १८० रन बनायो। कप्तान रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र लोकेश बमको विष्फोटक ब्याटिङले इङ्ल्यान्डका बलरहरूको पसिना छुटाइदिएको थियो। ४ रनले पराजित भए पनि नेपाली टोलीले १९ हजार दर्शकको मन मात्र जितेन, विश्व क्रिकेटमा आफ्नो दरिलो उपस्थितिको सन्देश समेत दिएको छ । ढाका टोपी र झन्डासहित पुगेका समर्थकहरूको उत्साह देखेर इङ्ल्यान्डका खेलाडीहरूले समेत नेपाली फ्यानको प्रशंसा गरेका छन्।