सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप २०२६ मा अनुपस्थित रहेबापत कुनै कारबाही नगर्ने निर्णय गरेसँगै विश्वकपको माहोल थप उत्साहित बनेको छ ।
यो निर्णयपछि पाकिस्तान, भारतविरुद्धको बहुप्रतीक्षित खेल खेल्न समेत तयार भएको छ । आईसीसी, पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) बीचको उच्चस्तरीय बैठकपछि जारी वक्तव्यमा सबै सदस्य राष्ट्रले प्रतियोगितासम्बन्धी आफ्ना प्रतिबद्धता पूरा गर्ने सहमति जनाएका छन् । क्रिकेटको हित, निष्पक्षता र सहकार्यलाई प्राथमिकतामा राख्दै प्रतियोगिता सफल बनाउने प्रतिबद्धता दोहार्याइएको छ ।
यसअघि पाकिस्तानको सहभागिताबारे अन्योल देखिएको अवस्थामा आईसीसीको पछिल्लो स्पष्टिकरणले स्थिति सहज बनाएको हो। अब फेब्रुअरी १५ मा कोलम्बोमा हुने भारत–पाकिस्तान भिडन्त तय कार्यक्रमअनुसार नै हुने भएको छ। विश्व क्रिकेटकै सबैभन्दा चर्चित र रोमाञ्चक प्रतिस्पर्धाका रूपमा हेरिने यो खेलप्रति समर्थकहरूको उत्साह चरममा पुगेको छ ।
आईसीसीले सन् २०३१ को आईसीसी पुरुष क्रिकेट विश्वकपअघि बंगलादेशलाई आईसीसीको एक प्रमुख प्रतियोगिता आयोजना गर्ने अवसर समेत दिने निर्णय गरेको छ । जसका लागि नियमित प्रक्रिया र मापदण्ड पूरा गर्नुपर्ने छ । जसले दक्षिण एसियाली क्रिकेट राजनीतिमा नयाँ सन्देश दिएको विश्लेषण भइरहेको छ ।