झापा गाेल्डकपकाे खेल तालिका सार्वजनिक

सोमबार, माघ १९, २०८२

झापा:मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप’ (विनोद बस्नेत स्मृति संस्करण) को खेल तालिका सार्वजनिक गरिएको छ। बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आगामी माघ २४ गतेदेखि सुरु हुने यस प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
आयोजक झापा गोल्डकपका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा आयोजक झापा ११ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुनेछन्। १० टोलीको सहभागिता रहने यस प्रतियोगितामा नेपालका ए डिभिजन क्लबहरूसँगै विदेशी टोलीहरूको समेत आकर्षक उपस्थिति रहनेछ।
सार्वजनिक तालिका अनुसार माघ २५ गते विभागीय टोली त्रिभुवन आर्मी र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ। यस्तै, माघ २६ गते हुने पहिलो क्वाटर फाइनलमा उद्घाटन खेलको विजेताले सिक्किमको सिग्लिङ स्पोर्टिङ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

माघ २७ गते दोस्रो दिनको विजेता विरुद्ध पोखराको लालीगुराँस एसोसिएसन भिड्नेछ भने माघ २८ गते सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब विरुद्ध भुटानको रोयल थिम्पु कलेज मैदान उत्रिँदैछ । 
माघ २९ गते मछिन्द्र फुटबल क्लब विरुद्ध मलेसियाको एन पेनाङ फुटबल क्लब खेल्नेछ । 
प्रतियोगिताको सेमिफाइनल फागुन १ र २ गते हुनेछ भने उपाधि भिडन्त फागुन ४ गतेका लागि तय गरिएको छ।
यसपटक गोल्डकपको पुरस्कार राशिमा पनि आकर्षक वृद्धि गरिएको छ। प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ नगद र ट्रफी हात पार्नेछ भने उपविजेताले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने कोषाध्यक्ष चन्द्रमणि कट्टेलले जानकारी दिइन्।

व्यक्तिगत विधातर्फको आकर्षण पनि उत्तिकै छ ।
सर्वोत्कृष्ट खेलाडीले यामाहाको एक थान मोटरसाइकल पुरस्कार पाउनेछ । उत्कृष्ट विधातर्फ गोलकिपर, प्रशिक्षक, उच्च गोलकर्ताले जनही ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्लेयर अफ द म्याच घोषित हुनेले प्रत्येक खेलमा २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
एग्रो थाई फुड्स प्रालिको उत्पादन एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ। झापालाई फुटबलको हब बनाउने र नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको यो गोल्डकप यस वर्ष अझ भव्य हुने अध्यक्ष केदार गिरीले बताए।

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  १२:४३
प्रतिक्रिया दिनुहोस्