T10 T10

अस्ट्रेलियन महिला क्रिकेट कप्तान एलिसा हिलीको सन्यास घोषणा

मंगलबार, पुस २९, २०८२
Global

काठमाडौं :अस्ट्रेलियन महिला क्रिकेट टोलीकी कप्तान तथा अनुभवी विकेटकिपर–ब्याटर एलिसा हिलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेकी छन्।

हिलीले भारतविरुद्ध हुने घरेलु एकदिवसीय र टेस्ट सिरिजपछि सबै फर्म्याटको अन्तर्राष्ट्रिय क्रिकेटलाई विदा गर्ने बताएकी हुन्। यसअघि नै उनले फेब्रुअरीमा हुने टी–२० अन्तर्राष्ट्रिय खेलहरू नखेल्ने निर्णय गरेकी थिइन्, जससँगै उनको टी–२०आई करियर समाप्त भएको छ।

करीब दुई दशक लामो करियरमा हिलीले अस्ट्रेलियाका लागि उल्लेखनीय योगदान दिएकी छन्। महिला एकदिवसीय क्रिकेटमा उनले १२३ खेल खेल्दै ७ शतक र १८ अर्धशतकसहित ३ हजार ५ सय ६३ रन बनाएकी छन्।

त्यस्तै, महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १६२ खेलमा १ शतक र १७ अर्धशतकसहित ३ हजार ५४ रन जोडिन्। टेस्ट क्रिकेटमा भने १० खेलमा ४ सय ८९ रन बनाउँदै विकेटकिपरको भूमिकामा समेत प्रभावशाली देखिइन्।

सन्यासको निर्णयबारे प्रतिक्रिया दिँदै हिलीले आफूमा पहिले जस्तो प्रतिस्पर्धात्मक ऊर्जा नबचेको महसुस भएपछि यो निर्णय लिएको बताएकी छन्।

उनको सन्यासपछि अस्ट्रेलियाले आगामी टी–२० विश्वकपको तयारी नयाँ नेतृत्वमा गर्नुपर्नेछ। हाल उपकप्तान टालिया म्याकग्राथसँगै एश्ली गार्डनर र फोबे लिचफिल्ड सम्भावित कप्तानका रूपमा चर्चामा छन्।

एलिसा हिलीले आफ्नो करियरमा ६ पटक टी–२० विश्वकप र २ पटक एकदिवसीय विश्वकप जित्दै अस्ट्रेलियन क्रिकेट इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले लेखाएकी छन्।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  ०९:४४
प्रतिक्रिया दिनुहोस्