सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं:आगामी टी–२० विश्वकप २०२६ का सह–आयोजक भारतलाई चोटको समस्याले सताउन थालेको छ। न्युजिल्यान्डविरुद्ध जारी एकदिवसीय (ओडीआई) सिरिजका क्रममा भारतका महत्वपूर्ण अलराउन्डर वासिङ्टन सुन्दर घाइते भएका छन्।
आइतबार वडोदरा स्थित बीसीए स्टेडियममा भएको पहिलो ओडीआई खेलमा बलिङ गर्ने क्रममा सुन्दरको बायाँ तल्लो रिब (छातीको भाग) मा अचानक समस्या देखिएको थियो। त्यसपछि उनलाई सिरिजको बाँकी खेलबाट बाहिर राखिएको छ।
सुन्दरको थप स्क्यान गरिनेछ र त्यसपछि बीसीसीआईको मेडिकल टिमले विशेषज्ञको राय लिएर चोटको गम्भीरता मूल्यांकन गर्ने जनाएको छ।
सुन्दरको स्थानमा भारतले २४ वर्षीय आयुष बदोनीलाई टोलीमा समावेश गरेको छ। बदोनीको यो पहिलो पटक भारतीय ओडीआई टोलीमा छनोट हो। उनी दोस्रो ओडीआई खेल हुने राजकोटमा टोलीसँग जोडिनेछन्।
वासिङ्टन सुन्दर भारतको टी–२० विश्वकप टोलीमा पनि समावेश छन्। ओडीआई सिरिजपछि भारत र न्युजिल्यान्डबीच पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुनेछ, जसलाई दुवै टोलीले अर्को महिनाबाट भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी–२० विश्वकपको तयारीका रूपमा लिएका छन्।
यसैबीच, भारतका अर्का ब्याट्सम्यान तिलक वर्मा पनि चोटबाट निको हुँदैछन्। उनले न्युजिल्यान्डविरुद्धको टी–२० सिरिजका पहिलो तीन खेल गुमाउनेछन्।