सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :न्युजिल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा घरेलु टोली भारतले विजयी सुरुवात गरेको छ। ३ खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा भारतले न्युजिल्याण्डलाई ४ विकेटले पराजित गर्दै आत्मविश्वासपूर्ण सुरुआत गरेको हो। ३ सय १ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। जितमा विराट कोहलीको ९३ रनको उत्कृष्ट इनिङ्स निर्णायक बन्यो। सुरुआतमा रोहित शर्मा र कप्तान शुभमन गिलले भारतलाई मजबुत आधार दिए। रोहित २६ रनमा आउट भए पनि त्यसपछि विराटले इनिङ्स सम्हाल्दै धैर्यपूर्ण ब्याटिङ गरे। विराट र शुभमनबीच दोस्रो विकेटका लागि १ सय १८ रनको महत्वपूर्ण साझेदारी भयो। शुभमन ५६ रनमा आउट भए। मध्यक्रममा श्रेयस अय्यरले ४९ रन बनाए भने अन्त्यतिर केएल राहुलले नटआउट २९ रनको संयमित इनिङ्स खेल्दै भारतको जित सुनिश्चित गरे। विराटले ९१ बलमा ८ चौका र १ छक्का प्रहार गरेका थिए। यस क्रममा विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा २८ हजार रन पूरा गर्दै सबै फर्म्याटमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान पनि बनाएका छन्। उनले श्रीलंकाका पूर्व क्रिकेटर कुमार सांगाकारालाई पछि पारेका हुन्। सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा सचिन तेन्दुलकर शीर्ष स्थानमा छन्। न्युजिल्याण्डका तर्फबाट केल जेमिन्सनले रोहित शर्मा, विराट कोहली र श्रेयस अय्यरसहित ४ विकेट लिए। यसअघि ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय रन बनाएको थियो। ड्यारिल मिचेलले ८४ रन, हेनरी निकोल्सले ६२ रन र डेभोन कनवेले ५६ रन बनाए। भारतका मोहम्मद सिराज, हर्षित राणा र वासिङ्टन सुन्दरले समान २–२ विकेट लिए। सिरिजको दोस्रो एकदिवसीय बुधवार खेलिनेछ।