T10 T10

विश्वकप छनौट अघि नेपालको पहिलो जित

आइतबार, पुस २७, २०८२
Global

काठमाडौं :आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअघि नेपाली महिला क्रिकेट टोलीले अभ्यास खेलमा पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले अमेरिकालाई ४ विकेटले पराजित गर्दै अभ्यास चरणको पहिलो सफलता हात पारेको हो ।
अमेरिकाले दिएको १५८ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । लक्ष्य पछ्याउने क्रममा सम्झना खड्काले अविजित ४९ रनको महत्वपूर्ण योगदान दिइन् भने पूजा महतोले अविजित ४३ रन बनाउँदै जित सुनिश्चित गरिन् । काजल श्रेष्ठले २८ र कविता जोशीले १२ रन जोडिन् ।
अमेरिकाका लागि तारा नोरिस र लेखा शेट्टीले २–२ विकेट लिए भने तरानुम चोपराले १ विकेट लिइन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो । एला क्लारिजले ३९ रन बनाउँदा पूजा गनेसले २२ रनको योगदान दिइन् ।
नेपालतर्फ मनिषा उपाध्यायले २ विकेट लिइन् भने कविता कुँवर, कविता जोशी, रिया शर्मा र रचना चौधरीले १–१ विकेट हात पारे ।
यसअघि नेपाल स्कटल्यान्डसँगको अभ्यास खेलमा २७ रनले पराजित भएको थियो । अमेरिकासँग यसअघि खेलेका दुई अभ्यास खेलमा नेपालले एक जित र एक हारको नतिजा निकालेको थियो । ताजा जितसँगै ग्लोबल छनोटअघि नेपाली टोलीको आत्मविश्वास बढेको छ ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १७:२९
प्रतिक्रिया दिनुहोस्