T10 T10

राष्ट्रपतिले गरे टी–२० विश्वकपको ट्रफी सार्वजनिक

सोमबार, पुस २१, २०८२
Global

काठमाडौँ :राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी–२० विश्वकपको ट्रफी सार्वजनिक गरेका छन् ।

ट्रफी टुर अन्तर्गत नेपाल आइपुगेको उक्त ट्रफी आज राष्ट्रपति कार्यालय शीतलनिवासमा सार्वजनिक गरिएको हो।कार्यक्रममा राष्ट्रपति पौडेलसँगै पुरुष राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल, प्रशिक्षक स्टुआर्ट ल, महिला टोलीकी कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महतो, प्रशिक्षक हर्षल पटेल तथा क्यान अध्यक्ष चतुरबहादुर चन्द सहभागी थिए।

ट्रफी सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले विश्वकप ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताए ।

यसले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अघि बढिरहेको सन्देश विश्वभर फैलाएको उनको भनाइ थियो।राष्ट्रपति पौडेलले क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै खेल क्षेत्रको व्यावसायिक विकाससँगै नेपाली युवाको भविष्य उज्यालो बन्दै गएको बताए ।

उनले खेलकुद क्षेत्रका लागि आवश्यक संरचना र अवसर क्रमशः विकास हुँदै जानु सकारात्मक संकेत भएको भन्दै नेपालमा आयोजना हुन लागेको महिला विश्वकप छनोट प्रतियोगिता तथा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा सहभागी महिला तथा पुरुष राष्ट्रिय टोलीलाई सफल प्रदर्शनका लागि शुभकामना समेत दिए ।
 

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  १७:१०
प्रतिक्रिया दिनुहोस्