T10 T10

क्रिकेटर ज्ञानेन्द्र मल्ल रास्वपाकाे समानुपातिक उमेद्वार

मंगलबार, पुस १५, २०८२

काठमाडौं : नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा चर्चित क्रिकेटर ज्ञानेन्द्र मल्ल राजनीतिक यात्रामा औपचारिक रूपमा प्रवेश गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई आगामी आमनिर्वाचनका लागि समानुपातिक तर्फको उम्मेद्वार बनाएको छ ।
रास्वपाले मल्ललाई आदिवासी जनजाति क्लस्टर अन्तर्गत उम्मेद्वारको रूपमा अघि सारेको हो । लामो समय नेपाली क्रिकेटमा नेतृत्वदायी भूमिका निर्वाह गरेका मल्लले राष्ट्रिय टोलीको कप्तानका रूपमा थुप्रै ऐतिहासिक उपलब्धिमा महत्वपूर्ण योगदान दिएका छन् ।
खेल क्षेत्रबाट राजनीति प्रवेश गरेका मल्लको उम्मेद्वारीलाई रास्वपाले युवा, खेलकुद र नयाँ सोचको प्रतिनिधित्व का रूपमा लिएको जनाएको छ । खेलकुदमार्फत देशको पहिचान स्थापित गर्न सफल व्यक्तिलाई नीति निर्माणको तहमा पुर्‍याउने पार्टीको रणनीतिअन्तर्गत उनको नाम अगाडि सारिएको बताइएको छ ।
क्रिकेट मैदानमा अनुशासन, नेतृत्व र समर्पणको उदाहरण प्रस्तुत गरेका ज्ञानेन्द्र मल्लको राजनीतिक प्रवेशले खेलकुद क्षेत्रका मुद्दा, युवाको आवाज र आदिवासी जनजातिको प्रतिनिधित्वलाई राष्ट्रिय राजनीतिमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  ०७:२५
प्रतिक्रिया दिनुहोस्