सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानको दोस्रो चरणको निर्माण कार्य अन्योलमा परेको छ। त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट संघ (क्यान) बीचको सम्झौता नवीकरणमा सहमति नजुट्दा दोस्रो चरणको काम प्रभावित हुने देखिएको हो।
२०५९ सालमा टीयू र क्यानबीच भएको मैदान प्रयोगसम्बन्धी सम्झौता आगामी वैशाखमा सकिँदै छ। तर सम्झौता नवीकरण नगर्ने पक्षमा विश्वविद्यालय रहेपछि समस्या उत्पन्न भएको हो। सम्झौता नवीकरण नभएसम्म दोस्रो चरणको निर्माण कार्य सुरु गर्न नसकिने सहरी विकास मन्त्रालयअन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले स्पष्ट पारेको छ।
कार्यालयका सुपरिन्टेन्डेन्ट इन्जिनियर चक्रवर्ती कण्ठका अनुसार दोस्रो चरणको काम अघि बढाउन पहिला जग्गाको सुनिश्चितता आवश्यक छ। यस विषयमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयसँग पत्राचार गरिए पनि ठोस नतिजा नआएपछि अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सहजीकरणको प्रयास भइरहेको छ।
सहरी विकास मन्त्रालयको प्रस्तावमा गत असोज ३० गते मन्त्रिपरिषद् बैठकले कीर्तिपुर क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गरिसकेको छ। दोस्रो चरणका लागि करिब १० अर्ब रुपैयाँ बजेट पनि सुनिश्चित भइसकेको छ। तर जग्गाको सुनिश्चितता नहुँदा बहुवर्षीय योजना अघि बढ्न नसकेको हो।
इन्जिनियर कण्ठका अनुसार त्रिविको जग्गा भएकाले क्यान वा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मध्ये कसले कुन शर्तमा प्रयोग गर्ने भन्ने टुंगिन बाँकी छ। यी विषय टुंगिएपछि मात्रै प्रक्रिया अघि बढ्ने उनको भनाइ छ।
यसअघि दोस्रो चरणको काम तीन वर्षभित्र सक्ने लक्ष्य राखिएको थियो। तर सम्झौता नवीकरण पेचिलो बन्दै जाँदा समयसीमा प्रभावित हुने देखिएको छ। क्यानले पनि हालसम्म सम्झौता नवीकरणका लागि औपचारिक पहल नगरेको जनाइएको छ।
यदि सम्झौता नवीकरणमा सहमति जुटे दोस्रो चरणको काम सुरु गरेर दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ। यद्यपि, जग्गाको स्वामित्व टीयूकै रहने भएकाले प्रयोगसम्बन्धी विषयमा खेलकुद मन्त्रालयसँग थप छलफल गर्नुपर्नेछ।
यसअघि सम्पन्न पहिलो चरणमा १० हजार दर्शक क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइट जडान भइसकेका छन्। प्यारापिट निर्माणका लागि करिब ४३ करोड ७७ लाख रुपैयाँ र फ्लडलाइट जडानका लागि २७ करोड ४० लाख रुपैयाँ खर्च भएको थियो। पहिलो चरणको काम सम्पन्न भएपछि गत कात्तिक ३० गते राष्ट्रिय खेलकुद परिषद् र क्यानलाई हस्तान्तरण गरिएको थियो।
अब दोस्रो चरणको काम कहिले सुरु हुन्छ भन्ने विषय सम्झौता नवीकरण र जग्गा सुनिश्चिततामै निर्भर रहेको छ।