T10 T10

टी-२० वरियतामा दीपेन्द्रसिंह ऐरी आठौँ स्थानमा यथावत्

बुधबार, पुस ९, २०८२

काठमाडौँ :अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार सार्वजनिक गरेको सन् २०२५ को टी–२० वरियतामा नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी आठौँ स्थानमा यथावत् छन् । निरन्तर प्रदर्शनको बलमा ऐरी विश्वका शीर्ष अलराउन्डरहरूमध्ये आफूलाई मजबुत रूपमा स्थापित गर्न सफल भएका हुन् ।

पाकिस्तानका साइम अयुब शीर्ष स्थानमा रहँदा जिम्बाब्वेका सिकन्दर राजा दोस्रो र वेस्ट इन्डिजका रोस्टन चेज तेस्रो स्थानमा छन् । भारतका हार्दिक पण्ड्या चौथो स्थानमा रहँदा ऐरीभन्दा अगाडि क्रमशः पाकिस्तानका मोहम्मद नवाज, अफगानिस्तानका मोहम्मद नाबी र वेस्ट इन्डिजका रोमारियो सेफर्ड छन् । शीर्ष १० मा अफगानिस्तानका अज्मातुल्लाह ओमारजाई नवौँ र भारतका अक्षर पटेल दशौँ स्थानमा छन् ।

नेपालबाट कुशल भुर्तेल अलराउन्डर वरियतामा २६ औँ स्थानमा छन् भने कप्तान रोहित पौडेल ४२ औँ स्थानमा कायम छन् । गुल्सन झा ५०, कुशल मल्ल ८७ र करण केसी ९८ औँ स्थानमा परेका छन् । शीर्ष १०० अलराउन्डर सूचीमा नेपालका कुल ६ खेलाडी समावेश हुनु सकारात्मक संकेत हो ।

बलिङ वरियतामा भारतका वरुण चक्रवर्ती शीर्ष स्थानमा छन् । नेपालबाट ललित राजवंशी ७९, दीपेन्द्रसिंह ऐरी ८० र सन्दीप लामिछाने ८८ औँ स्थानमा छन् । ब्याटिङतर्फ पनि भारतकै अभिषेक शर्मा पहिलो स्थानमा रहँदा नेपालबाट ऐरीसहित चार खेलाडी शीर्ष १०० मा अटाएका छन् । ऐरी ७३, रोहित पौडेल ७५, आसिफ शेख ७७ र कुशल भुर्तेल ७८ औँ स्थानमा छन् ।

अलराउन्डर, ब्याटिङ र बलिङ—तीनै विधामा शीर्ष १०० भित्र पर्ने ऐरी नेपाली क्रिकेटका लागि बहुआयामिक शक्ति बनेका छन् । यता, बुधबारै सार्वजनिक ट्वान्टी–२० टिम वरियतामा नेपाल १७ औँ स्थानमा कायम रहेको छ ।

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  १६:१९
प्रतिक्रिया दिनुहोस्