T10 T10

महिला विश्वकपको ऐतिहासिक छनोट नेपालमा

कठिन समूहमा नेपाल
आइतबार, पुस ६, २०८२
Global

काठमाडौं :नेपालमै आयोजना हुने आईसीसी महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोट आगामी पुस ३० गतेदेखि माघ २० गतेसम्म सञ्चालन हुने भएको छ । पहिलो पटक महिला विश्वकप छनोटको आयोजना गर्न लागेको नेपालका लागि यो प्रतियोगिता ऐतिहासिक अवसरका रूपमा हेरिएको छ ।

विश्वकप छनोटमा १० राष्ट्र सहभागी हुनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा नेपालसँगै नेदरल्यान्ड्स, जिम्बावे, थाइल्यान्ड र स्कटल्याण्ड रहेका छन् । प्रतिस्पर्धात्मक टोलीहरू रहेकाले यो समूह नेपालका लागि चुनौतीपूर्ण मानिएको छ ।

समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन् ।

प्रतियोगिताअघि नेपालले आयरल्यान्ड र अमेरिकासँग अभ्यास खेल खेल्ने तालिका बनाएको छ । नेपालले पुस ३० गते थाइल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यसपछि माघ ८ गते नेदरल्यान्ड्स, पुस १० गते जिम्बावे र पुस १२ गते स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

क्यानका अनुसार छनोटका खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान तथा मुलपानीका दुई मैदानमा सञ्चालन हुनेछन् ।

विश्वकपमा छनोट हुने लक्ष्यसहित क्यानले नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा हर्शल पाठकलाई नियुक्त गरेको छ । पाठकका लागि यो प्रतियोगिता नै पहिलो आधिकारिक जिम्मेवारी हुनेछ ।

हाल नेपाली टोली मुलपानीमा अभ्यासरत छ । दोस्रो चरणको प्रशिक्षणमा इन्दु बर्मा, रुविना क्षेत्री, सिता रानामगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, कविता कुँवर, राजमती ऐरी, साना प्रविन, इश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, विन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, काजोल श्रेष्ठ, रुवि पोद्दार र पुजा महतो सहभागी छन् ।

नेपालले घरेलु मैदानको फाइदा उठाउँदै पहिलो पटक महिला ट्वान्टी–२० विश्वकपमा स्थान बनाउने लक्ष्यसहित तयारी तीव्र बनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस ६, २०८२  १२:१९
प्रतिक्रिया दिनुहोस्