तीन महिनापछि नेपाली क्रिकेटको जर्सी बजारमा

शनिबार, पुस ५, २०८२

काठमाडौं :तीन महिनाको पर्खाइपछि बल्ल नेपाली क्रिकेट समर्थकका लागि खुसीको खबर आएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी अब आम समर्थकले पनि खरिद गर्न पाउने भएका छन्।

टी–१० स्पोर्ट्सको नेपाल प्रतिनिधि भाटभटेनी होल्डिङ्सले शुक्रबारदेखि आधिकारिक रूपमा जर्सी बिक्री सुरु गरेको हो। क्यानले असोजमै जर्सी सार्वजनिक गरे पनि उत्पादन, ढुवानी र सम्झौतासम्बन्धी प्रक्रियाका कारण समर्थकले लामो समय कुर्नु परेको थियो।

भाटभटेनी होल्डिङ्सका निर्देशक आलोकजंग जोशीका अनुसार क्यान र खेलाडीहरूका लागि जर्सी पहिल्यै उपलब्ध गराइए पनि समर्थकका लागि भने ढिलै बिक्री खोलिएको हो।
उनले भने, “अब भने फ्यानहरूले पनि आधिकारिक च्यानलबाटै जर्सी किन्न पाउनेछन्।”

यसपटक क्यान र टी–१० स्पोर्ट्सले समर्थकको पहुँचलाई ध्यानमा राख्दै दुई किसिमका जर्सी बजारमा ल्याएका छन्। समर्थकका लागि तयार गरिएको फ्यान जर्सी को मूल्य १ हजार ५ सय ९९ रुपैयाँ तोकिएको छ भने खेलाडीले प्रयोग गर्ने अथेन्टिक जर्सी ३ हजार ४ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ। यी दुवै जर्सी भाटभटेनीका सबै स्टोरहरूमा पाइने  छ।

दशैंअघि नै वेस्ट इन्डिजसँगको घरेलु सिरिजका क्रममा क्यानले टी–१० स्पोर्ट्स र भाटभटेनी होल्डिङ्ससँग दुई वर्षको जर्सी प्रायोजन सम्झौता गरेको थियो। तर भारतमा उत्पादन हुने जर्सी नेपाल भित्र्याउन ढिलाइ हुँदा समर्थकको अपेक्षा अधुरै रह्यो। बाटोको अवस्था, चाडपर्व र मूल्य निर्धारणसम्बन्धी विषयले पनि बिक्री प्रक्रिया पछाडि धकेलिएको हो।

गाढा निलो र रातो रङको संयोजनमा तयार पारिएको नयाँ जर्सी डिजाइनले राष्ट्रिय पहिचान झल्काउँछ। काँधको एकतर्फ चन्द्र र अर्कोतर्फ सूर्य अंकित गरिएको छ भने तल्लो भागमा सगरमाथाको संकेत राखिएको छ। बीच भागमा मुख्य प्रायोजक ‘नासा सेक्युरिटीज’को लोगो राखिएको छ।

नेपाली टोलीले यही जर्सी लगाएर वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिज, ओमानमा भएको टी–२० विश्वकप ग्लोबल क्वालिफायर तथा युएईमा सम्पन्न आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेलिसकेको छ। अब यही जर्सीमा नेपाली खेलाडीहरू फागुनमा भारतमा हुने विश्वकप खेल्ने तयारीमा छन्।

तीन महिनापछि बल्ल समर्थकको हातमा पुग्न लागेको यो जर्सी केवल कपडा मात्र होइन, नेपाली क्रिकेटप्रतिको गर्व र भावनाको प्रतीक बनेको छ।

प्रकाशित मिति: शनिबार, पुस ५, २०८२  १४:५२
प्रतिक्रिया दिनुहोस्