सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं : भारतले पाँचौँ तथा अन्तिम टि–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै पाँच खेलको सिरिज ३–१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा भारतले बलियो प्रदर्शन गर्दै सिरिज आफ्नो नाममा लेखायो।
पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाउँदै २३१ रनको विशाल स्कोर खडा गर्यो। भारतको इनिङ्समा तिलक वर्मा र हार्दिक पाण्ड्याले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक पूरा गरे। तिलकले ७३ रन बनाउँदा हार्दिकले ६३ रनको आक्रामक इनिङ्स खेले।
भारतलाई अभिषेक शर्मा र सञ्जु स्यामसनले तीव्र सुरुआत दिलाएका थिए। अभिषेकले ३४ र स्यामसनले ३७ रन जोडे। मध्य ओभरमा तिलकले इनिङ्स सम्हाल्दै रन गति कायम राखे भने अन्तिम ओभरतिर हार्दिकले दोस्रो सबैभन्दा छिटो अर्धशतक पूरा गर्दै टोलीको स्कोर २ सय पार गराए।
२३२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले राम्रो सुरुआत गरे पनि निरन्तर विकेट गुमाउँदा लक्ष्य भेट्न सकेन। ओपनर क्विन्टन डि ककले ६५ रनको अर्धशतकीय इनिङ्स खेल्दै रीजा हेन्ड्रिक्ससँग पहिलो विकेटका लागि ६९ रनको साझेदारी गरे। तर त्यसपछि आएका ब्याटरहरू दबाबमा परेपछि टोली २० ओभरमा ८ विकेट गुमाउँदै २०१ रनमै रोकियो।
भारतका बलरहरूमा वरुण चक्रवर्ती सर्वाधिक सफल रहे। उनले ४ विकेट लिँदै दक्षिण अफ्रिकी इनिङ्सलाई कमजोर बनाए। जसप्रीत बुमराहले २ विकेट हात पारे।
सिरिजभरि निरन्तर प्रदर्शन गरेका तिलक वर्मा सर्वाधिक रन बनाउने खेलाडी बने। पाँच खेलमा उनले कुल १८७ रन जोडे। दोस्रो स्थानमा दक्षिण अफ्रिकाका क्विन्टन डि कक रहे भने तेस्रो स्थानमा हार्दिक पाण्ड्या रहे।
सिरिजमा सर्वाधिक रन बनाउने शीर्ष ५ खेलाडी
तिलक वर्मा (भारत) – १८७ रन
क्विन्टन डि कक (दक्षिण अफ्रिका) – १५६ रन
हार्दिक पाण्ड्या (भारत) – १४२ रन
एडेन मार्कराम (दक्षिण अफ्रिका) – ११० रन
अभिषेक शर्मा (भारत) – १०३ रन
बलिङतर्फ पाँचौँ खेलमा ४ विकेट लिएका वरुण चक्रवर्ती नै सिरिजका सर्वाधिक विकेट लिने बलर बने। उनले कुल १० विकेट लिए। यसपछि लुंगी एन्गिडी, ओट्निल बार्टम्यान, अर्शदीप सिंह र जसप्रीत बुमराह क्रमशः शीर्ष बलरको सूचीमा रहे।
भारतको यो जितसँगै घरेलु मैदानमा टोलीको आत्मविश्वास अझ बलियो बनेको छ भने दक्षिण अफ्रिकाले सिरिजमा अपेक्षित प्रदर्शन गर्न सकेन।