सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं- भारत र दक्षिण अफ्रिकाबीचको चौथो टी-२० रोमान्चक हुने अपेक्षा गरिएको थियो, तर लखनउको 'विषालु धुलो र बाक्लो कुहिरो' ले खेल नै निल्दियो।
अम्पायरहरूले पटक–पटक मैदानको निरीक्षण गरे, तर भिजिबिलिटी यति कम थियो कि अन्ततः खेल एक बल पनि नफाली रद्द गर्नुपर्यो।
खेल सुरु हुनुअघि नै मैदानमा क्रिकेटरहरू मास्क लगाएर हिँडिरहेको दृश्यले लखनउको वायु प्रदूषण र कोहरोको भयावह स्थिति चित्रण गरिरहेको थियो। टसको समय पटक–पटक सार्दै साढे दुई घण्टा कुराउँदा पनि खेल नभएपछि रंगशाला पुगेका हजारौँ दर्शकहरू आक्रोशित बने।
"मैले निकै दुःखले पैसा जुटाएर टिकट किनेको थिएँ, अब हाम्रो पैसा तुरुन्त फिर्ता हुनुपर्छ!" — एक निराश फ्यानको गुनासो हो यो ।
खेल रद्द भएपछि राजनीतिज्ञहरू अखिलेश यादव र शशि थरुरले यसलाई दुर्भाग्यपूर्ण बताएका छन्। यता सामाजिक सञ्जालमा भने फ्यानहरूले व्यवस्थापनमाथि प्रश्न उठाएका छन्। "जब कैयौँ दिनदेखि कोहरो बढिरहेको थियो भने खेल राति किन राखियो? किन दिउँसो खेलाइएन?" भन्दै दर्शकले आक्रोश पोखेका छन्।
५ खेलको यो सिरिजमा भारत २-१ ले अगाडि छ। चौथो खेल रद्द भएसँगै अब सिरिजको निर्णय अन्तिम खेलबाट हुनेछ। निर्णायक खेल भोलि अहमदाबादमा हुनेछ ।