ट्रान्सपोर्ट युनाइटेड र नासरिनको खेल बराबरीमा

बुधबार, पुस २, २०८२

काठमाडौँ :साफ महिला क्लब च्याम्पियनसिपमा भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र बंगलादेशको नासरिनले बराबरी खेलेका छन् ।

दशरथ रंगशालामा आज भएको खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र बंगलादेशको नासरिन स्पोर्टस एकेडेमीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।जित नजिक पुगेको ट्रान्सपोर्ट युनाइटेड अन्तिम समयमा सम्हालिन नसक्दा खेल बराबरीमा टुंगिएको हो।

दुवै टोली यसअघि नै फाइनल दौडबाट बाहिरिसकेकाले खेल लिग तालिकाको वरीयता र प्रतिष्ठाका लागि मात्र सीमित थियो।खेलको ३८औं मिनेटमा ट्रान्सपोर्टकी कप्तान पेमा छोडेन छिरिङले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्।

लामो समयसम्म अग्रता जोगाएको ट्रान्सपोर्टले निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा गोल खायो। नासरिनकी स्ट्राइकर सौरभी अकन्दा प्रीतिले गोल गर्दै टोलीको हार टारिन् ।

यो नतिजासँगै ट्रान्सपोर्ट युनाइटेडले चार खेलबाट तीन अंक जोड्दै तेस्रो स्थानमा रहँदै प्रतियोगिता समाप्त गरेको छ। नासरिन स्पोर्टस एकेडेमी भने चार खेलबाट दुई अंकसहित तालिकाको पुछारमा रह्यो ।

प्रतियोगिताको नियमअनुसार शीर्ष दुई टोली मात्र फाइनलमा प्रवेश गर्ने प्रावधान छ।

नेपालका एपीएफ क्लब र भारतको इस्ट बंगाल क्लबले यसअघि नै फाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।
 

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  १७:२३
प्रतिक्रिया दिनुहोस्