पूर्ब कप्तान क्षेत्रीको प्रिडिक्सन :एनपिएलको उपाधि सुदुरपश्चिमले जित्छ 

शनिबार, मंसिर २७, २०८२

काठमाडौँ :नेपाल प्रिमियर लिग एनपीएलको अहिले देश विदेश जताततै चर्चा चुलिएको छ ।

किक्रेटका पारखीहरुले एनपीएललाई आईपीएलसँग तुलना गर्दै विश्वको दाेस्राे ठुलो लिग बन्नसक्ने भन्दै खुशी व्यक्त गरेका छन् । नेपालीले मात्र होइन, भारतीयले पनि आईपीएलपछि संसारका प्रमुख लिगहरूमध्ये एनपीएल दोस्रो लिग हुन सक्ने दाबी गरेका छन् ।

भारतीय कन्टेन्ट क्रिएटरहरूले थुप्रै भिडियोहरूमा त एनपीएललाई पाकिस्तानको सुपर लिग, बङ्गलादेशको लिग र अस्ट्रेलियाको बिग बास लिगभन्दा पनि ठूलो भनिएको पाइएको छ । एनपीएल हेर्न पहिलोपल्ट नेपाल आएको आईसीसी टिम, कमेन्टेटर र विदेशी खेलाडी यहाँको क्रिकेट क्रेज देखेर अचम्मित छन् ।

नेपाल निकट समयमै छिमेकी देश भारत र श्रीलंकामा हुने टि–२० विश्वकपमा पुनः उत्रिने त्यो सुखद क्षणको पर्खाइ छ । यस्तो अवस्थामा एनपिएल क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रशारणको माध्यमबाट विश्वमा नेपाली क्रिकेटको ब्यापक रुपमा प्रचार भैरहेको छ । प्रभावशाली विदेशी खेलाडी एनपीएल खेल्न नेपाल आउदा नेपाली खेलाडीले उनीहरुबाट धेरै कुरा सिक्ने अवसर पाप्त गरेका छन् भने पर्यटन प्रवद्र्धनमा पनि टेवा पुगेको नेपाली टोलीका पूर्व कप्तान एलबी क्षत्रीको भनाइ छ । 

लोभलाग्दो प्रदर्शन ,अनुभवी खेलाडी अनि बलियो समर्थकको साथ हेर्दा यस पटकको उपाधि सुदुरपश्चिमले नै जित्ने उनको लख छ । 

क्यानले पनि पहिलो संस्करणको तुलनामा एनपीएलको गुणस्तरमा सुधार गर्दै लगेको देखिन्छ । नेपालमा पहिलोपल्ट फ्लड लाइटमुनि डे–नाइट खेल भइरहेको छ । एनपीएलमा यसपालि फ्लडलाइट मात्र होइन, सट ट्र्याकिङ टेक्नोलोजी पनि राखिएको छ । यसले छक्का, चौकाको उचाइ, गति, दूरी स्वचालित रूपमा नापेर ग्राफिक्समा देखाउँछ ।

पुर्वाधार विकाससँगै खेलाडीको वृद्धी विकासमा पनि एनपीएलको भुमिका महत्वपूर्ण रहेको क्यानका पूर्व अध्यक्ष विनय पाण्डेले बताएका छन् ।  नेपाली क्रिकेटको घरेलु महाकुम्भ नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणमा उपाधि भिडन्त आज हुँदैछ ।

सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच हुने फाइनल खेलको नतिजाबाट नयाँ च्याम्पीयन बन्ने टोलीको टुङ्गो लाग्नेछ ।

सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच हुने फाइनल खेलको नतिजाबाट नयाँ च्याम्पीयन बन्ने टोलीको टुङ्गो लाग्नेछ ।

पहिलो सिजनको उपविजेता बनेको दिपेन्द्र सीह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम यो पटक उपाधि उचाल्दै सिजनको अन्त्य गर्न चाहन्छ भने गत सिजन लिगमा चरणबाटै बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक ट्रफी भित्र्याउने दाउमा छ । जारी सिजनको एनपीएलमा सुदूरपश्चिम र लुम्बिनी फरक विशेषता बोकेका टोली हुन् ।

एकातिर, सुदूरपश्चिमको फाइनल यात्रा निकै लोभलाग्दो देखिन्छ । प्रारम्भदेखि नै एकपछि अर्को उत्कृष्ट प्रदर्शनसहित फाइनलमा पुग्ने टोली हो, सुदूरपश्चिम ।

यसको विपरीत, लुम्बिनी लायन्सको फाइनल यात्रा निकै उतार–चढावपूर्ण रह्यो । लिग चरणदेखि नै आफ्नो टोलीको खेललाई नजिकबाट नियाल्दै आएका लुम्बिनीका समर्थकसमेत टोलीको फाइनल यात्राप्रति आशावादी त थिए, तर ढुक्क थिएनन् ।

अन्ततः गुमेको लय फर्काउँदै लुम्बिनी उपाधि नजिक पुगेको छ । प्रतियोगितामा एक खेल मात्र हारेको सुदूरपश्चिमलाई तालिकामा चौथो हुँदै बल्लतल्ल प्ले–अफमा पुग्न पुगेको लम्बिनीलाई हराउन त्यति सहज नहुने देखिन्छ ।

सुदूरपश्चिमसँग सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा रहेका विनोद भण्डारी र सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका अविनाश बोहरा छन् । यी दुई खेलाडीले फाइनलमा प्रभाव छाड्ने छन् भने कप्तान ऐरी अलराउन्ड प्रदर्शनका लागि तयार छन् । उता राष्ट्रिय टोलीका कप्तान पौडेल, डार्सी सर्ट र शेर मल्ल सुदुरका लागि समस्या पैदा गर्न सक्ने छन् ।

दुवै टोलीको तुलना गर्दा सुदूरपश्चिमको टोली सन्तुलीत देखिएकाले लुम्बिनीलाई चुनौती पेस गर्न कठिन हुने नेपाली टोलीका पूर्व कप्तान पवन अग्रवालको बुझाइ छ । अब, आक्रामक चरित्रसहित अघि बढेको सुदूरपश्चिम र सुस्त गतिमा यात्रा अघि बढाएको लुम्बिनीमध्ये बाजी कसले मार्ने हो, त्यसको फैसला आज हुनेछ ।

एनपीएलको विजेताले एक करोड १० लाख पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो रु १५ लाख प्राप्त गर्नेछ ।

नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियोे ।

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  १४:०६
प्रतिक्रिया दिनुहोस्