सुदूरपश्चिमको अपराजित यात्रामा पूर्णविराम 

विराटनगरसँग ६ विकेटले पराजित
शनिबार, मंसिर २०, २०८२

काठमाडौँ :नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम विराटनगर किंग्ससँग ६ विकेटले पराजित भएको हो । जितकालागि सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । विराटनगरको जितमा दक्षिण अफ्रिकी ब्याटर फाफ डु प्लेसिस र अस्ट्रेलियाका साम हेजलेटको घातक ओपनिङ साझेदारी महत्वपूर्ण रह्यो ।

प्लेसिसले २० बलमा ५ चौका र ४ छक्काको मद्दतमा ५० रन पूरा गरेका थिए । हेजलेटले २७ बलमा ३ चौका र ४ छक्कासहित ५१ रन जोडेका थिए । पहिलो विकेटका लागि उनीहरुले ९७ रनको साझेदारी गरेका थिए । मार्टिन गुप्टिलले २२ तथा प्रतिश जीसी १३ रनमा अविजित रहे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४७ रन जोडेको थियो । उसकालागि आरिफ शेखले नटआउट ४५ रन जोडे । इशान पाण्डेले ३८ तथा जोश ब्राउनले २४ रन बनाए ।

हारका बाबवुत सुदूरपश्चिम ७ खेलमा १२ अंकसहित तालिकाको शीर्ष स्थानमा कायमै छ । विराटनगर १० अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । 

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराट नगरसंगै खेल्ने पक्का भएको छ ।
 

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  १४:१९
प्रतिक्रिया दिनुहोस्