लुम्बिनीको प्लेअफ सम्भावना कायमै,विराटनर ५ विकेटले पराजित 

बुधबार, मंसिर १७, २०८२

काठमाडौँ :लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको प्लेअफ सम्भावना कायमै राखेको छ ।

आज भएको खेलमा  विराटनगर किङ्ग्सलाई ५ विकेटले हराउँदै लुम्बिनीको प्लेअफ सम्भावना बलियो बनाएको हो । जितकालागि विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

लुम्बिनीको जितमा म्याथु सर्टले अर्धसतकिय पारी खेल्दै सर्वाधिक ५७ रन जोडे । निरोशन डिकवेलाले नटआउट २९ तथा सन्दीप जोराले २४ रन बनाए ।

त्यसअघि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङमा तानिएको विराटनगरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो । उसकालागि लोकेश बलमे सर्वाधिक ३५ रनको योगदान गरे । बसिर अहमदले २८,साम हिजलेटले २७ तथा फाप डु प्लेसिसले १२ रन बनाए । मर्चेन्ट डे लेङ्गा १० तथा सन्दीप लामीछाने ६ रनमा अविजित रहे । सुरुवातमै अनुभवी ब्याटर जर्ज मुन्सेलाई गुमाएर दबाबमा परेको विराटनगरका ब्याटर लुम्बिनीका बलरसामु खुलेर खेल्न सकेनन् ।

विराटनगरलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ शेर मल्लले सर्वाधिक ३ विकेट लिए । जोनाथन स्मीथ, रुबेन ट्रम्पेलम्यान र अभिषेश गौतमले एक-एक विकेट हात पारे । 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १९:२२
प्रतिक्रिया दिनुहोस्