सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आगामी फेब्रुअरीदेखि मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ ।
भारतको मुम्बईमा हिजो एक कार्यक्रमका बीच समूह विभाजनसहित खेलतालिका सार्वजनिक गरिएको हो । नेपाली क्रिकेट टोली कठिन समूहमा परेको छ । नेपाली टोली २–२ पटकका विश्वविजेता इंग्ल्यान्ड र वेस्ट इन्डिजसँगै बंगलादेश र इटाली सम्मिलित समूह ‘सी’ मा छ । नेपालले इंग्ल्यान्डसँगै पहिलो खेल फेब्रुअरी ८ मा खेल्ने छ । खेल मुम्बईस्थित वान्खडे स्टेडियममा हुनेछ । यस्तै नेपालले फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा बंगलादेशसँग खेल्नेछ । यी खेलहरू पनि मुम्बईमा नै हुनेछन् ।
नेपालले इंग्ल्यान्डसँग अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्ने यो पहिलो अवसर हुनेछ । यसअघि नेपालले भारत, पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिकालगायतका टोलीसँग विभिन्न प्रतियोगितामा खेलिसकेको छ । गत संस्करणको टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एउटै समूहमा परेको थियो । त्यसबेला नेपाल दक्षिण अफ्रिकासँग १ रनको झिनो अन्तरले पराजित भएको थियो ।
विश्वकपका अन्य समूहमा भारत, पाकिस्तान, नेदरल्यान्ड्स, नामिबिया र अमेरिका समूह ए मा छन् भने समूह 'बी'मा अस्ट्रेलिया, श्रीलंका, जिम्बाबे, आयरल्यान्ड र ओमान छन् । समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, यूएई र क्यानडा छन् ।
टी–२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुनेछ ।