एनपीएल : काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै

बुधबार, मंसिर ३, २०८२

काठमाडौँ :नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज काठमाडौँ गुर्खाज र गत संस्करणका उपविजेता सुदूरपश्चिम रोयल्सबीच रोमाञ्चक भिडन्त हुँदैछ।

उद्घाटन खेलमा विजयी बनेको काठमाडौँले लगातार दोस्रो जित खोज्नेछ भने सुदूरपश्चिमले प्रतियोगितामा सकारात्मक सुरुआत गर्ने लक्ष्य राखेको छ।

काठमाडौँ गुर्खाजको कप्तानी करण केसीले सम्हालेका छन्। उनकी टोलीमा भीम सार्की, अदिल आलम, शाहब आलम, बेन चाल्र्सवर्थ, नामिबियाली अलराउन्डर गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम थापा मगर, सन्नी पटेल, जोन सिम्पसन, प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुलबहादुर थापा, रिकार्डो भास्कोनसेलोस र सन्तोष यादवलगायत खेलाडी रहेका छन्।

यता सुदूरपश्चिम रोयल्सलाई नेपाली राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले नेतृत्व गर्दैछन्। टोलीमा विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, इशान पाण्डे, टेक रावत, नरेन साउद, हर्मित सिंह, आरिफ शेख, दीपेन्द्र थापा र हिम्मत महरा समावेश छन्।

काठमाडौँको प्रशिक्षण दायित्व पूर्वराष्ट्रिय प्रशिक्षक मोन्टी देशाइले सम्हालेका छन् भने सुदूरपश्चिमको टोलीलाई जगत टमाटाले नेतृत्व दिएका छन्।

क्यानद्वारा मंसिर १ बाट सुरु भएको प्रतियोगितामा आठ टोली प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १४:३९
प्रतिक्रिया दिनुहोस्