एनपिएल आजदेखि, उद्घाटन खेलमा जनकपुर र काठमाण्डु भिड्दै

सोमबार, मंसिर १, २०८२

काठमाडौँ :नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार प्रतियोगिताको आधिकारिक उद्घाटन अपराह्न २ बजे हुनेछ भने उद्घाटन खेल साँझ ४ बजेबाट सुरु हुने छ।

मंसिर २७ गतेसम्म चल्ने यस प्रतिस्पर्धामा लिग चरणदेखि प्लेअफ र फाइनलसम्म गरी जम्मा ३२ खेल समावेश छन्।

उन्नत रंगशाला, नयाँ उत्साह

त्रिवि क्रिकेट मैदानमा यसपटक प्यारापिट तथा फ्लड लाइट जडानपछि रंगशालाको स्वरूप बदलिएको छ। १० हजार दर्शक अट्ने क्षमता बनेको मैदानमा समर्थकले पहिलोपटक व्यवस्थित सिटमै बसेर खेल हेरसक्नेछन्। फ्लड लाइटको कारण रातिकालीन खेल सञ्चालन हुने व्यवस्था पनि हुन थालेको छ, जसले रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको अनुभूति दिने अपेक्षा गरिएको छ।

उद्घाटन खेलमा गत वर्षको च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज आमनेसामने हुँदै छन्।

आकर्षक पुरस्कार राशी

क्यानले यस संस्करणमा विजेता टोलीका लागि रु १ करोड १० लाख को आकर्षक पुरस्कार राखेको छ। उपविजेताले रु ५१ लाख, तेस्रो हुनेले रु २५ लाख र चौथो स्थान प्राप्त गर्ने टोलीले रु १५ लाख पुरस्कार पाउने छन्।

गत संस्करणमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि हात पारेको थियो।

टिकट बिक्री र मूल्य

क्यानले हरेक खेल दिन ९ हजार ४५० टिकट बिक्री गर्ने जनाएको छ।
उद्घाटन दिनका सबै टिकट दुई दिनअघि नै सकिइसकेका छन्।

टिकट मूल्य यस्तो हुनेछः

साधारण (उद्घाटन दिन): रु ५००

प्रिमियम (उद्घाटन दिन): रु १,५००

लिग चरण/अन्य दिन: रु ५०० र रु १,०००

प्लेअफ पछि: साधारण रु १,००० / प्रिमियम रु २,०००

सिजनल टिकट: रु १५,०००

आठ टोलीबीच प्रतिस्पर्धा

दोस्रो संस्करणमा आठ फ्रेन्चाइज टोलीले उपाधिको लागि भिड्नेछन्—
जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स।

क्यानले यस संस्करणबाट रु ४० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ।

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  ०७:५५
प्रतिक्रिया दिनुहोस्