प्लेसिसले विराटनगर किंग्सबाट एनपिएल खेल्ने

शुक्रबार, कात्तिक १४, २०८२

काठमाडौं :दक्षिण अफ्रिकाका पूर्व कप्तान फ्राँकोइस डु प्लेसिस आगामी नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सका तर्फबाट खेल्ने भएका छन्। शुक्रबार टोलीले उनलाई औपचारिक रूपमा अनुबन्ध गरेको घोषणा गरेको हो।

४१ वर्षीय डु प्लेसिस दायाँहाते आक्रामक ब्याट्सम्यान र लेगब्रेक बलर हुन्। विश्वका प्रमुख टी–२० लिगहरूमा खेलेर उनीले लामो अनुभव बटुलेका छन्। दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीका लागि उनले टेस्ट, एकदिवसीय र टी–२० तिनै फर्म्याटमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

सन् २०१२ मा इंग्ल्यान्डविरुद्ध टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका उनले अन्तिम खेल सन् २०२० मा सोही देशविरुद्ध खेलेका थिए। आईपीएलमा चेन्नई सुपरकिंग्सबाट दुईपटक फाइनल खेलेका डु प्लेसिसले लिगमा ४ हजारभन्दा बढी रन बनाएका छन्।

धोनी, उथप्पा, कार्तिक र गम्भीरपछि आईपीएलमा यो उपलब्धि हासिल गर्ने उनी पाँचौं खेलाडी हुन्। उनले आईपीएल, सीपीएल, बीबीएल, पीएसएल, बीपीएल र ‘द हन्ड्रेड’ लगायत विश्वका ठूला लिगमा प्रदर्शन गरिसकेका छन्।

डु प्लेसिसले हालसम्म ४२४ टी–२० खेल्दै ११ हजार ९०६ रन जोडेका छन्। अन्तर्राष्ट्रिय स्तरमा उनले ६९ टेस्टमा ४१६३, १४३ एकदिवसीयमा ५५०७ र ५० टी–२० अन्तर्राष्ट्रियमा १५२८ रन बनाएका छन्। बलिङमा पनि उनी सक्षम छन्—४२४ टी–२० खेलमा उनले ५० विकेट लिएका छन्।

विराटनगर किंग्सका लागि उनको आगमनले टोलीको ब्याटिङ लाइनअप बलियो हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  १७:५१
प्रतिक्रिया दिनुहोस्