सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:आइसिसी विश्वकप लिग–२ मा नेपालको खराब प्रदर्शन जारी छ।
एकपछि अर्को हारको सिलसिलाले नेपाली टोलीलाई गम्भीर संकटमा पुर्याएको छ।
बिहीबार सम्पन्न त्रिदेशीय शृंखलाको खेलमा नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँग पाँच विकेटले पराजय बेहो-र्यो। कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट शतक हुँदाहुँदै पनि नेपालले सन्तोषजनक स्कोर बनाउन सकेन र सहजै खेल गुमायो। यो हारसँगै आठ राष्ट्र सहभागी लिग–२ मा नेपालको हार संख्या ११ पुगेको छ।
युएई यसअघि कमजोर टोलीको रूपमा हेरिएको थियो — उसले १७ खेलमा जम्मा तीन जित मात्र निकालेको थियो। तर त्यही टोलीले नेपालमाथि स्पष्ट प्रभाव जमायो। लगातार कमजोर ब्याटिङका कारण नेपालको एकदिवसीय मान्यता जोगाउने र विश्वकप क्वालिफायर २०२७ को यात्रा जीवित राख्ने लक्ष्यमा दबाब थपिएको छ।
लिगको प्रारूपअनुसार ३६ खेलपछि शीर्ष चार टोली मात्र क्वालिफायरमा पुग्नेछन्। हालसम्म नेपालले १८ खेल सकेको छ र १२ अंकसहित सातौँ स्थानमा छ। यो अंक शीर्ष टोलीको आधाभन्दा पनि कम हो। पाँचौँ र छैटौँ स्थानका टोलीसँगको दूरी बढ्दै गएपछि नेपालको चुनौती झन् गहिरिँदै गएको छ।
अमेरिका, युएई र नेपाल सम्मिलित यस शृंखलामा नेपालको यो दोस्रो हार हो। पहिलो खेलमा पनि कमजोर ब्याटिङका कारण नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो। युएईविरुद्ध पनि उस्तै समस्या दोहोरिँदा नेपाल फेरि पराजय बेहोर्न बाध्य भयो।
हालसम्मको साइकलमा कुनै पनि नेपाली ब्याटर शीर्ष १९ रनकर्ताको सूचीमा छैन। नेपालतर्फ आरिफ शेख सर्वाधिक रनकर्ताको रूपमा १३ खेलमा ४३१ रनसहित अगाडि छन्, तर अन्य ब्याटर निकै पछि परेका छन्।
नेपाली ब्याटरले धैर्य र स्थायित्व प्रदर्शन गर्न नसक्दा टोलीको परिणाममा त्यसको प्रत्यक्ष असर देखिएको छ। विशेष गरी ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख अपेक्षित प्रदर्शन गर्न सकेका छैनन्। कुशल झन् लगातार कमजोर लयमा छन् — पछिल्ला ११ खेलमध्ये १० मा उनी सस्तैमा आउट भएका छन्।
भीम सार्की र आसिफ शेख पनि फर्ममा फर्किन सकेका छैनन्। युएईविरुद्ध कुशल ७, भीम ३ र आसिफ ३५ रनमा आउट हुँदा नेपाल सुरु देखिनै दबाबमा पर्यो। चौथो नम्बरमा आएका कप्तान रोहितले १०९ रनको शतकीय इनिङ खेले, तर अन्य ब्याटरले पर्याप्त साथ दिन सकेनन्। आरिफ शेखले २७, दीपेन्द्र सिंह ऐरीले २३ र करण केसीले १३ रन जोडे। बाँकी सबै ब्याटर दोहोरो अंकमा पुग्न असफल रहे र नेपालले ५० ओभरमा दुई सय ३३ रनमा सबै विकेट गुमायो।
बलिङमा पनि नेपालले त्यही निराशाजनक लय दोहोर्यो। घरेलु टोलीका ओपनर अलिसान सरफु र आर्यन्स शर्माले प्रारम्भिक ओभरमै आक्रामक ब्याटिङ गर्दै खेल आफ्नो पक्षमा मोडे। युएईले पावर प्लेमा ६३ रन जोड्दा एक विकेट मात्र गुमायो। आर्यन्सले शानदार ९८ रन बनाए र ‘म्यान अफ द म्याच’ घोषित भए।
नेपालका बलर सन्दीप लामिछानेले दुई विकेट लिए भने करण केसी र दीपेन्द्र ऐरीले एक–एक विकेट हात पारे। तर उनीहरूले लक्ष्य रक्षा गर्न सकेनन्।
युएईका जाहिद अलीले चार विकेट लिए, जुनैद सिद्दिकीले तीन, र मोहम्मद रोहिद तथा हैदर अलीले एक–एक विकेट झारे।
हारसँगै नेपाल १८ खेलबाट १२ अंकसहित सातौँ स्थानमा छ, जबकि युएई समान खेलबाट आठ अंकका साथ पुछारमा रहेको छ।