अमेरिका विरुद्द टस जितेको नेपाल फिल्डिङमा

आइतबार, कात्तिक ९, २०८२

काठमाडौँ :दुबईमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएई शृङ्खलाको पहिलो खेलमा नेपाल अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ । खेलमा नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्।

यूएई र अमेरिकासँग हुने यो शृङ्खलाका लागि क्यानले रोहित पौडेलको कप्तानीमा टिम घोषणा गरेको थियो। यसपटक टोलीमा केही परिवर्तन गरिएको छ — सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई बाहिर राखी भीम सार्की, शाहब आलम र अनिल साहलाई मौका दिइएको हो।

नेपाल र अमेरिकाबीचका पछिल्ला चार खेलमध्ये नेपालले केवल एकपटक जित हात पारेको छ, जबकि अमेरिका तीन खेलमा विजयी भएको छ। दुबै टोलीको हालको फर्म पनि मिल्दोजुल्दो छ — पछिल्ला चार–चार खेलमा दुवैले तीन जित र एक हार व्यहोरेका छन्।

लिग–२ मा नेपालले अहिलेसम्म १२ खेल खेलेर १६ अंक जोडेको छ र तालिकाको सातौँ स्थानमा रहेको छ। समान खेल खेलेको यूएई ६ अंकसहित आठौँ स्थानमा छ। त्यस्तै, अमेरिका भने २० खेलमा २८ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ।

टी–२० विश्वकपमा स्थान सुरक्षित गरे पनि लिग–२ मा नेपालको प्रदर्शन अपेक्षाकृत कमजोर देखिएको छ। गत सिजनको तुलनामा टिमले निरन्तरता कायम गर्न सकेको छैन।

हाल अंकतालिकाको शीर्ष स्थानमा स्कटल्याण्ड २४ खेलबाट ३० अंकसहित रहेको छ। नेदरल्याण्ड्स समान खेलबाट २८ अंकसहित तेस्रो, ओमान २० खेलमा २४ अंकसहित चौथो, क्यानाडा २४ खेलबाट २१ अंकसहित पाँचौँ र नामिबिया २४ खेलबाट १९ अंकसहित छैटौँ स्थानमा छन्।

नेपालले यो शृङ्खलाको दोस्रो खेल कात्तिक १३ गते बिहीबार यूएईविरुद्ध खेल्ने तालिका रहेको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्